भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेले विजय सुवेदीलाई उमेदवार बनाउने

-


     मर्दी न्युज    
     चैत्र २७ गते २०७८ मा प्रकाशित


चितवन, २७ चैत । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)ले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

महानगर कमिटीको आज सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिए ।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले सोही नामलाई मात्रै प्रदेश कमिटीमा पठाउने बताए । प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार निर्णय गर्नेछ ।

सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख (सचिव) भइसकेको छ । हाल उनी पार्टीको बागमती प्रदेश सचिव हुन । सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ (ख) बाट बागमती प्रदेशसभा सदस्य हुन् ।

सुवेदी यसअघि नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री बनेका थिए । सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुन् भने उनले भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका कार्य प्रशंसनीय छन् ।