
सन् २००९ को अन्त्यतिर प्राणीशास्त्र केन्द्रीय बिभागमा स्नाकोत्तर दोस्रो वर्ष अध्यनको चरणमा सोधपत्र (थेसीस)को विषयवस्तुको खोजीमा थिए । मेरो जन्मस्थान पश्चिम नेपालको मध्यपहाडी जिल्ला अर्घाखाँचीको धारापानी हो । बाल्यकालदेखि नै म गिद्धसँग साक्षत्कार थिए । सिनोमा लुछाचुडी गरिरहेका गिद्धको चर्तिकला देख्दा मनै फुरुङ्ग हुन्थ्यो । कयौ पटक सिनो खाईरहेका गिद्ध धपाउदै विद्यालय नै जान बिर्सन्थे । घरदेखि करीव दुई घण्टाको पैदल दुरीमा रहेको घेराभिरका पहरामा ति गिद्धले गुँड बनाएर बस्ने गरेको कुरा हजुरबुवा सुनाउनुहुन्थ्यो । त्यहाँका गिद्धमा सोधपत्र गर्न पाए हुन्थ्यो भनेर उपयुक्त मार्गनिर्देशकको खोजीमा भौतारिरहेको थिए ।
मेरो सुपरभाईजर डा. मुकेशकुमार चालीसेले डा. हेमसागर बराललाई भेट्न भन्नुभयो । अहिले जस्तो सञ्चार सहज थिएन, अनेकौ प्रयत्न पछि म हेम सरलाई उहाँकै निवासमा भेट्न सफल भए । म आज पनि सम्झन्छु, हेम सरले म जस्तो एउटा अपरिचीत विद्यार्थी केटोलाई कसरी आफ्नै घरमा भेटन बोलाउनु भयो ? त्यो मेरो लागि एउटा ठूलो सौभाग्य थियो । मैले आफ्नो रुची सरसँग राखे । उहाँ अत्यन्तै खुशी हुनुभयो । एकपटक नेपाल पन्छी संरक्षण संघमा गएर चरा र गिद्धका सन्द्रभ सामाग्री अध्यन गर्न भन्नुभयो । छुट्नै लाग्दा शुभेच्छा सहित भन्नुभयो गिद्धमै अध्ययन गर फिल्डमा अध्ययन गर्न आर्थिक समस्या भयो भने रु.१० हजार म सहयोग गरुँला ।
सरको घरबाट म कुन उमगंका साथ फर्किए होला, ब्याख्या गर्ने कुनै शब्द छैन । पछि नेपाल पन्छी संरक्षण संघको जटायु छात्रवृत्तिमा गिद्धको अध्ययनलागि रु. २५ हजार पाएकोले सर सँगबाट उक्त पैसा लिनु त परेन तर त्यसै दिन देखि मैले प्रत्यक्ष, अप्रत्यक्षरुपमा सरलाई सधै पछाइरहे, नजानेको कुरा सोधिरहे, दुःख दिईनै रहे ।

त्यसै दिन नेपाल पन्छी संरक्षण संघमा पुगी ‘नेपालका चराहरु’ नेपालीमा लेखिएको पुस्तक रु. पाँच सयमा खरीद गरी अन्य चराका सामाग्रीसहित डेरामा फर्किए । डेरामा पुगी उक्त पुस्तक कयौ पटक पल्टाई–पल्टाई हेरे, चराका सुन्दर तस्वीर, नाम र आकर्षक व्याख्याले मलाई छोयो । त्यतिन्जेल गिद्ध एउटा बिकल्प मात्र थियो तर हेम सरसँगको भेट र उक्त पुस्तक हात परेपछि जीवनको गोरेटो फेला परेको महशुस भयो । आजसम्म पनि त्यही गोरेटोमा निरन्तर सरका पाइला पछ्याउँदै छु ।
सन् २००० मा रिर्चड ग्रिमेट, क्यारोल इन्स्किप, टिम इन्स्किप र हेम सागर बरालले नेपालमा पाईने चराहरुको विस्तृत जानकारीसहितको ‘बर्डस अफ नेपाल’ पुस्तक अंग्रेजी भाषामा प्रकाशित गर्नुभयो । अंग्रेजी भाषामा मात्र पुस्तकहरु प्रकाशित गरिराखे चराका ऐतिहासीक नेपाली नामहरु हराएर जाने र आम मान्छेहरुले चराहरुबारे बुझ्न गाह्रो हुने महशुस गरी सन् २००३ मा हेम सागर बरालले उक्त अंग्रेजी पुस्तकको अनुवाद गरी नेपालका चराहरु नेपाली भाषामा प्रकाशन गर्नुभयो । उक्त पुस्तक चराप्रेमी, विद्यार्थी, नीतिनिर्माता र आम समुदायमाझ अत्यन्तै प्रिय भयो । सम्भवत, नेपालमा वन्यजन्तुको विषयमा लेखिएका पुस्तकमा सबैभन्दा बढी लोकप्रिय पुस्तक त्यही नै हो । व्यापक माग र प्रयोगले उक्त पुस्तक सन् २०१५ तिर आउदा बजारमा पाउन मुस्किल भैसकेको थियो । सन् २०१६ मा ‘बर्डस अफ नेपाल’ परीमार्जित संस्करण प्रकाशीत भयो । तर चराप्रेमी र आम समुदायले नेपाली संस्करणकै खोजी गरी नै राखे । कतिसम्म भने नयाँ अंग्रेजी पुस्तकमा चराको नेपाली नामहरु हातैले लेखेर प्रयोग गरेको देखियो । मसँग भएको त्यो ऐतिहासीक र प्रिय नेपालका चराहरु पुस्तक पनि स्न २०१८ मा वन विज्ञान अध्ययन संस्थान हेटौडामा अध्यन गर्ने उत्साहित विद्यार्थी भाइबैनीहरुलाई दिएपछी मसँग पनि थिएन । तीब्र माग र प्रतिक्षा गरीएको उक्त नेपाली भाषाको नेपालका चराहरु पुस्तकको परीमार्जित संस्करण आज बिमोचन गरीयो ।
हिमाली प्रकृतिले प्रकाशन गरेको उक्त पुस्तकको काठमाडौंमा एक समारोहका बीच प्रमुख अतिथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले गर्नुभयो । नेपालको चरा इतिहासको प्रसंग कोट्याउदै पुस्तकका लेखक हेम सागर बरालले पुस्तकको तयारी गर्दा सहयोग पु¥याउनुहुने सबैलाई धन्यावाद दिनुभयो । पुस्तक बिमोचन गर्दै प्रमुख अतिथि कँडेलले परिमार्जित संस्करणमा चराका चित्र, वितरण नक्सा र जानाकारी आम समुदायले सहजै बुझ्न सक्ने शैलीमा प्रस्तुत गरिएकोमा लेखक र प्रकाशक प्रति आभार प्रकट गर्नुभयो ।

नेपालमा पाईने ८ सय ९० प्रजातीका चरामध्ये ७ सय ९० भन्दा बढी प्रजातीका चराहरुको चित्र, शारीरिक विवरण, आनीबानी, वासस्थान, मुख्य धरातलीय पैmलावट, वितरण र संरक्षण अवस्था समेटीएको यस पुस्तकमाथी नेपाल पन्छी संरक्षण संघका अध्यक्ष प्राध्यापक करनबहादुर शाहले समालोचना गर्नुभएको थियो । पुस्तक आर्कषक र उत्कृष्ट भएको बताउदै यसले चराको अनुसन्धान र संरक्षणमा लाग्न जनमानसलाई प्रेरित गर्ने बताउनु भयो । त्रिभुवन बिश्वबिद्यालय प्राणीशास्त्र केन्द्रीय बिभागका प्रमुख प्रध्यापक डा. तेजबहादुर थापा, नेपाल पन्छीविद संघका अध्यक्ष डा. भगवान राज दाहालले पनि पुस्तकको प्रशंसा गर्दै लेखक प्रति कृतज्ञता प्रकट गरी पुस्तकको व्यापक बितरण र उपयोगमा जोड दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेल, चरा अनुसन्धानकर्ता तथा संरक्षणकर्मी र पत्रकारको उपस्थिति थियो । बिमोचन कार्यक्रमको अध्यक्षता प्रकाशक संस्था हिमाली प्रकृतीका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीले गर्नुभएको थियो ।
आजको यस पुस्तक बिमोचन कार्यक्रममा सहभागी हुदै गर्दा मैले मेरो करीयरको सुरुवातका दिनहरु सम्झे । पहिलो संस्करण र सहि मार्गनिर्देशले जसरी मलाई चराप्रेमी बन्न पेरणा दियो त्यसरी नै यस पुस्तकले पनि धेरै भन्दा धेरै विद्यार्थी, अनुसन्धानकर्ता र आम समुदायलाइ पनि चरालाई माया गर्न र दिगो संरक्षणमा लाग्न प्रेरीत गर्ने अपेक्षा छ । चरामात्र होईन नेपालका अन्य वन्यजन्तु र प्राकृतिक सम्पदाको अध्यन, संरक्षण, व्यवस्थापन र प्रवद्धनमा बिशिष्ट दखल राख्नुहुने आदरणीय हेम सागर बराल सर प्रकाशक संस्था हिमाली प्रकृती प्रति यस महत्वपूर्ण प्रकाशनको लागि कृतज्ञ छौ ।