जिमिरबारी गाउँपुग्दा जे देखियो

-


     शेषकान्त शर्मा    
     वैशाख २० गते २०७९ मा प्रकाशित


कास्की । सुन्दर र पबित्र माछापुच्छ्रे हिमालले लाखौं पर्यटकहरुको मन लोभ्याउछ। धेरैजसो बिदेशी पर्यटकहरु आधार शिविर सम्मनै पुगेर आनन्द लिन रुचाउँछन । माछापुच्छ्रे हिमालको उत्तर (मोदिखोलातर्फ)को आधार शिविर सन १९६० को दशक देखिनै बिश्व चर्चित छ। तर दक्षिणी पाटो (पबित्र सेती नदी अथवा पोखरा तर्फ)ले भने पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन।

यसै प्रसंगमा आज नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीसंग अनौपचारिक घुमघामको शिलशिलामा जिमिरबारी गाउँ पुग्ने अबसर मिल्यो । गाडी चडेर झन्डै डेढ घन्टामा पुगिने जिमिरबारी सेतीनदि किनारको अन्तिम गाउँ हो।पोखरा बाट भुर्जुङ्गखोला, चौरा, खारपानी, तालुङ्गे, छिबाङ्ग, भलाउदी खोला, करुवा गाउँ, कबुचेगाउँ हुँदै जिमिरबारी पुगिन्छ। सेतीपारीका गाउँहरु भाराभुरी, तल्लो एबाङ्ग, उपल्लो एबाङ्ग, साँदललगायतका गाउँहरु देख्न सकिन्छ। तामाङ र मगर जातीको बाहुल्यता रहेको यस भेगको प्रमुख आयश्रोत कृषि तथा पशुपालन नै हो ।

न्हेने झरना

सन १९९३÷९४ ताका प्रख्यात पंछिबिद तथा माउन्टेन ट्राभल नेपालका संस्थापक कर्णेल जिम्मी रोबर्टससंग सहयोगिको रूपमा पंक्तिकार पुग्दा चारघर परिवार रहेको जिमिरबारीमा हाल एकघर मात्रै ठाडो रहेछ। जग्गा हाइड्रोपावर कम्पनीले लिएपछि उनिहरु बसाइँसराइ गरेर अन्यत्रै गएको कबुचे गाउँका स्थानीय सुकबहादुर तामाङले बताए ।

निर्माणाधीन विभिन्न हाइड्रोपावर प्रोजेक्ट, नदीको बहाव परिवर्तन, नदीजन्य पदार्थको अत्यधिक उत्खनन र दोहनका कारण पबित्र सेतिनदी उतिबेलाको जस्तो सुन्दर रहेनछ, कुरुप भैसकेको रहेछ। मन खिन्न भयो । जिमिरबारीबाट सुन्दर न्हेने झरना हेर्दाभने मन शितल भयो,आनन्दको अनुभुती भयो। त्यस ठाउँका पर्यटकीय संभावना र दिगोपन बारेमा अर्को अंकमा क्रमशः … ।

सेती नदी