चारवटा प्रदेशमा वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     वैशाख २५ गते २०७९ मा प्रकाशित


पोखरा । प्रदेश–१ को तराई भू–भागका केही स्थानमा आज बिहानैबाट पानी परिरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ ।