३० वैशाखपछि थाहा हुन्छ को सकिन्छ : ओली

-


     मर्दी न्युज    
     वैशाख २५ गते २०७९ मा प्रकाशित


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् ।

आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए ।

सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई जवाफ दिँदै को खत्तम भएछ भन्ने निर्वाचनपछि थाहा हुने बताए ।

उनले भने, ‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधानमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ । काँग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे । वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ, को खत्तम भएछ जनताले बताउँछ ।’

उनले नेकपा एमालेलाई विभिन्न रुपमा सिध्याउने प्रयासहरू गरिएका भन्दै उनको आसन्न निर्वाचनमा एमालेले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।

पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले तीन वर्षको जेल जीवनका बसाइमा पोखरालाई राम्रैसँग चिन्ने र अनुभव गर्ने अवसर पाएको स्मरण गरे ।

नेकपा एमालेका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार कृष्ण थापाले पोखरालाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धतासहित आफूहरू चुनावी अभियानमा जुटेको उनले बताए । शिक्षा, स्वास्थलगायत आधारभूत आवश्यकतामा सबै जनताको पहुँच पु¥याउने र पोखरालाई उत्कृष्ट महानगरका रुपमा स्थापित गर्ने उनले बताए ।

उपप्रमुख पदका उम्मेदवार मञ्जुदेवी गुरुङले जनताको सेवक बनेर महानगरवासीलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्ने बताइन । पोखरा महानगरलाई विकटबाट निकट बनाउन पूर्वाधार विकासका कामअघि बढाएको बताउँदै उनले महानगरलाई अझै सुन्दर बनाउन साहित्य, संस्कृति, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।