धोबीखोलाको ‘आर्क ब्रिज’ मा भक्कानिएको मन

-


     कृष्णप्रसाद भुसाल    
     वैशाख २७ गते २०७९ मा प्रकाशित


तस्विर साभार: किशोर प्रधाङ्ना

२२ अप्रिल २०२२, पृथ्वी दिवस । ब्रहमाण्डको एकमात्र जिवीत ग्रहको जिवन जोगाईराख्ने उद्धेश्यले अभिप्रेरीत पृथ्वी दिवसको यस वर्षको नारा थियो ‘हाम्रो पृथ्वी संरक्षणका लागि लगानी गरौँ’ । हाम्रो घर आगनमा हामी सँगै बस्ने चराहरु चिन्न, अभिलेख राख्न र तिनको संरक्षणमा सहयोगी मोबाईल एप्स ‘छिमेकी चरा’ हालै सार्वजनिक गरीएको छ । त्यही एप्स सम्बन्धी बैठक नेपाल पन्छी संरक्षणको कार्यालय उत्तरढोका लाजिम्पाटमा सहभागि भएर मेरो डेरा नयाँ बानेश्वर फर्कदै थिए ।

दुरी र समयले भ्याए सम्म पैदल यात्रा मेरो पहिलो प्राथमिकता हुन्छ, त्यस पछी सफा ट्याम्पु चढने र अन्तिम विकल्प अन्य सार्वजनिक बस । सन् २०१३ देखी पेट्रोलीयम पदार्थले चल्ने कुनै पनि सवारी साधन नकिन्ने र नचलाउने निर्णय गरेको मेरा लागि बिद्युतिय सवारी अझै पहुँचमा छैन । बिद्युतबाट चल्ने साझा बस सञ्चालन हुने हालैका समाचारले सम्भवत सबै भन्दा बढी खुशी हुनेमा म पनि पर्छु होला ।

माइतीघरबाट नयाँ बानेश्वरसम्म पैदल लम्कदै थिए, हातमा थियो लामो समय देखी नेपाल बस्दै आएका नेदरल्याण्डका नागरीक आरेन्ड भेन रिजेनले सन् २००३ देखी २०१६ सम्म बागमती र टौदह क्षेत्रमा चराको अध्ययन गरी लेखीएको पुस्तक । २ सय ६३ प्रजातीका चराको १६ वर्षको अवस्था, उतार चढाव, भोगीरहेका चुनौती र उनले देखेका चराका रोचक कथा पुस्तकमा समेटीएका छन् ।

वन परीसर र वैदेशिक रोजगार बोर्डको कार्यालय अघी ढकमक्क फुलेका ज्याकरण्डा फूललाई पृष्ठभुमी पारेर केही पैदलयात्रु फोटो खिच्ने र टिकटक बनाउन व्यस्त थिए कोही ठेलागाडाका पसलमा फलफुल खाँदै सडकमा हुईकिरहेका सवारीसँगै नजर दौडाईरहेका थिए । अपरान्ह ३ बजेको गर्मि थियो, म पनि एकछिन त्यतै सुस्ताए । ति सुन्दर दृश्यहरु पार गर्दै बिजुलीबजार ‘आर्क ब्रिज’ मा पुगे । पुल नजिक पुगेको महशुष नाक र आँखा दुवैले सँगै गराए ।

आर्कर्षक र भब्य ‘आर्क ब्रिज’को पिढीबाट पार गर्दैगर्दा जब तल बगीरहेको धोबीखोला तिर हेरे, मेरो मन हुडिलीयो, भक्कानियो, नरामाईलो लाग्यो । नाम धोबीखोला भएपनि त्यहा पानी बगेको छैन केवल फोहर र ढलको कालो दुर्गन्धित तरल प्रदार्थमात्र बगेको छ । करीव २० मिनट त्यही पुल वरपर गरी बिताएर, केहि थान फोटो र भिडियो खिची छेउमै ट्रकमा फोहर मिलाईरहनु भएका मजदुर साथीहरु सँग नजर जुधाउदै निस्कीए । पृथ्वी दिवशको सन्दर्भ परेको भएर पनि होला त्यहाको दृश्यले मलाई अरु दिन भन्दा बढी बिचलीत बनायो ।

डेरामा पुगेपछी यसो सामाजीक सञ्जाल खोली हेरेको पृथ्वी दिवसका बगे्रल्ती शुभकामना देखीए । केहि थान उच्च स्तरीय होटेलहरुका सुविधासम्पन्न सभाहलमा आयोजित र्काक्रमका तस्विरहरु पनि देखीए । मैले पनि २२ सेकेन्डको भिडियो टिकटकमा अपलोड गरे र त्यसैलाई “आज ५२ औ पृथ्वी दिवस धनि, सभ्य, सचेत र उच्चबर्गको ठान्ने मान्छेहरु बस्ने राजधानी काठमाडौंको मध्य भागमा बग्ने धोबिखोलाको अवस्था यस्तो छ । राजधानी र अन्य शहरहरुका नदी अत्याधिक प्रदुषणले मृत भएका छन फलत शहर आफै मृत भएको छ । शहरका नदी अब नदी रहेनन् फोहर विषर्जन स्थल र ढलमा रुपान्त्रित गरीसकिएको छ । हामीले खाली अग्ला घर, चिल्ला सडक र झिलीमिली बत्तिमा मात्र बिकाश देख्यौ तर शहरी सभ्यता र सुन्दरताको कडी नदीलाई बिर्सीर्यौ” भन्ने क्याप्सन सहित फेसबुकमा पनि पोष्ट गरे ।

मेरो फेसबुकमा भएका करीव १८ सय साथी मध्येबाट ४३ जनाको लाईक र आठ जनाको प्रतिक्रिया मात्र आए । सायद त्यहाको ‘आर्क ब्रिज’ र त्यहा गुडिरहेका गाडीहरुको भिडियो भईदिएको भए कयौ गुणा बढी प्रतिक्रिया आउथे होला । त्यसैदिन उपहारस्वरुप प्राप्त गरेको आरेन्ड भेन रिजेनको पुस्तक पल्टाए । बागमति र टौदह क्षेत्रमा देखीएका २ सय ६३ प्रजातीका चराहरुमध्ये खासगरी साईवेरीया क्षेत्रबाट जोडो याममा बसाईसरी गरी बागमती र टौदह सिमसार क्षेत्रमा आउने ५२ प्रजातीका चराहरुको संख्या उक्त १६ वर्षको अनुगमन अवधीमा तिव्र गतिमा घटेका रहेछन् । चराहरुलाई बातावरणमा आउने बदलाव तथा त्यसमा देखीएका समस्याको संकेत दिने सुचक जिवको रुपमा लिईन्छ ।

यस मानेमा अत्याधिक प्रदुषण र बासस्थान बिनाशको कारण आगन्तुक पानीचरा बिस्थापीत हुनुले उपत्यकाका नदीहरुको बिग्रदो स्वरुप दर्शाउछ । काठमाडौं उपत्यका हाम्रो मात्र होईन कुनै समय चराको पनि राजधानी थियो जहाँ नेपालमा हाल पाईने चराका ८ सय ९० प्रजातीको करीव दुई तिहाई प्रजाती पाइन्थे । केहि दशक अघिसम्म पनि हजारौको संख्यामा बसाईसराइ गरी आउने पाहुना चराहरु यहाका रैथाने चराहरुसँग उपत्यकाका खेतका फाँटहरुमा आहार विहार गर्दै यहाका नदीमा बग्ने स्वच्छ र सफा पानी पिउदै रमाउथे होला ।

तर अहिले यहाका नदीहरुले आफ्नो प्राकृतिक र जैविक स्वरुप गुमाईसकेका छन । यहाँका नदीमा घुलीएको अक्सिजनको मात्रा औषतमा ३.२१ मिलीग्राम प्रतिलिटर छ जबकी माछा लगाएतका जलीए जिव बाच्नकोलागि ५ देखी १५ मिलीग्राम प्रतिलिटर घुलित अक्सिजनको आवश्यक पर्दछ । यहाँको पानीमा अम्लियपना, एमोनिया, आइरन लगायतका हानिकारक रसायनको मात्रा पनि बिश्व स्वास्थ संगठन र स्वयम नेपालले तोकेको मापदण्ड भन्दा पनि अत्याधिक बढी छ । पानीमा हुनुपर्ने गुणहरु, रङ, स्वाद र गन्ध बिहिनताका साथै सङ्लोपना यहाँको शहरी क्षेत्रमा बग्ने कुनै पनि नदीमा छैनन । खाली यहाँ त फोहर र रसायन मात्र बगेको छ, आँखाले देख्न सकिने जैविक, अजैविक फोहर थुप्रीएको छ र त्यहा छन हानिकारक ब्याक्टेरीया । त्यसैले नदी मृत छन्, शहर पनि मृत बनेको छ र मृत शहरबासी हामी के छौ ? प्रश्न हामी तिर तेस्रिएको छ ।

सामाजिक सञ्जालका शुभकामना र ति होटेलका कार्यक्रममा टाँगिएका पृथ्वी दिवशको नारा लेखीएका ब्यानरहरुले गिज्याएजस्तो लाग्यो । छेउमा पाँच वर्षको छोरा प्लास्टीकका खेलौना सँग खेलीरहेको छ । यो विषयमा लेखौ भन्ने सोच आउछ, खास मुड चल्दैन । यसो छोरालाई हेर्छु झन बढी बिचलीत हुन्छु । यो शहरमा हामी हाम्रा नानी बाबुहरुलाई प्रकृतिको सामिप्यताबाट विच्छेद गरी कृत्रिम बातावरणमा मात्र कैद गर्न बाध्य छौ । हाम्रा शहर सिमेन्टी घरैघरहरुले भरीएका घना बस्ती मात्र बनेका छन् ।

यहाँ पर्याप्त खुला ठाऊ, बगैचा, सफा नदी र प्रकृतीमैत्री संरचनाहरु छैन्न । यसैले हाम्रा बच्चाहरु बढी भन्दा बढी समय मोबाईल, ल्यापटप र टिभीमा झुम्मिएर बस्ने वा प्लास्टीकका खेलौना सँग मात्र खेल्न बाध्य छन् । यसले बालबालीकाको चौतर्फी बिकाश हुनबाट मात्र रोकेको छैन बिस्तारै प्रकृतीबाट बिमुख पनि बनाउदै लगेको छ । रुख, वन, चरा, पुतली, जनावर, सफा पानी कलकल बग्ने झरना÷नदी केवल स्किृनमा मात्र देख्न पाएका छन् । बच्चाहरुमात्र होइन, हामी अन्य उमेर समुहका मानिसहरु पनि स्वच्छ हावा लिदै, चराको चिरबिर आवाज सुन्दै प्रभातकालीन र सन्ध्याकालीन हिडाई हिड्ने ठाउँ छैन । खासमा हामीले शहरमा स्वस्थ र गुणस्तरीय जिवन यापनका न्युनतम मापदण्ड पनि कायम गर्न सकिरहेका छैनौ । बच्चालाई दुध कहाँबाट आउछ भन्यो भने डेरीबाट भन्छन्, चामल सोध्यो भने पसलबाट, रुख कस्तो हुन्छ भन्दा सजाउन राखेका प्लाष्टिकका फुल देखाउँछन्, माछा कहाँ बस्छ भन्दा एक्वारीयममा भन्छन् । यसमा दोषी को ?

शहर भन्न शहर कस्तो हुनुपर्दछ, त्यसका मापदण्ड के हुन् भन्ने ईन्जिनियर वा विषयगत बिज्ञहरुले धेरै नै बताउन सक्ने कुरा भयो । तर हामी आम मान्छेले पनि महशुष गर्ने कुरा शहर स्वस्थ र सुन्दर हुन त्यहाँका नदी सुन्दर हुनुपर्छ, बनाउनुपर्छ, वातावरण सफा हुनु पर्छ । संसारका प्रख्यात शहरहरु कोपेनहेगन, आमस्ट्रडम, स्टकहोम, ब्रलिन पर्यावरणमैत्री शहरीकरणका कारण नै आर्कषक बनेका हुन् ।

पानी र नदी उद्विकासको प्राथमिक स्थान, सजीव जीवनको बाँच्ने आधार मात्र होइन र सम्पूर्ण वातावरणीय तथा पारिस्थितिकीय चक्रको सञ्चालक पनि हो । त्यसैले शहरको पर्यावरण सन्तुलनको लागि यहाका नदी स्वच्छ हुनुपर्छ । तर हामी ठिक उल्टो गर्दैछौ, शहर सफा राख्न भन्दै सबै फोहर र ढल सिधै नदीमा बिसर्जन गर्दैछौ । हाम्रो यो उल्टो यात्राको प्रभाव बुझ्न सरोकारवाला निकायका मान्यजनहरु ‘आर्क ब्रिज’ माथी कारका शिसा बन्द गरी एसिमा हुईकीने मात्र होइन यसको पिढीबाट पनि वारपार गरौ न कृपया !

करीव २० मिनेटको उक्त ‘आर्क ब्रिज’ बसाइको बेला एकजना बुढी आमा पिढीबाट पुल पार गरी बबरमहल तिर लाग्नु भयो । हातको झोला काखीमा च्यापी नदीलाई ढोग्दै पुल पार गर्नु भयो । फरक दिशामा भएकोले उहाँको आस्था, बिश्वास र दृष्टीकोण बारे प्रतिक्रीया बुझ्न सकिन तर नदी हाम्रा धार्मिक र सास्कृतिक आस्थाका केन्द्र पनि हुन । त्यसैले पनि शहरी नदीहरुको सभ्यता तथा स्वच्छता कायम राखी राख्नु पहिलो प्राथमिकता हुनुपर्छ । यसलाई हरेक नागरीकको गुणस्तरीय जीवनयापनको पाटोसँग पनि जोडेर हेरौ । हाप्तामा एक दिन सञ्चालित सफाई अभियानले अब हाम्रा नदी सफा हुदैन्न र त्यो दिगो प्रक्रिया पनि होईन ।

नदीमा ढल र फोहरको सिधा बिसर्जन रोक्नै पर्छ । नदीमा पुग्नु पहिला प्रशोधीत हुनुपर्यो, चक्रिय प्रयोग हुनुपर्यो र मुख्य कुरा त्यसखालका फोहरको उत्पादनमा नै न्युनिकरण गर्नुपर्यो । यस अभियानमा सरकार, सरोकारवाला निकायको मात्र होईन आम नागरीकको भुमिका पनि महत्वपुर्ण हुन्छ । हाम्रा दैनिक क्रियाकलाप पनि कसरी कम प्रदुषीत र पर्यावरण मैत्री बनाउने भनि सोच्नुपर्छ । भनाइ र गराइमा एकरूपता ल्याउनु पर्छ । ठुला ठुला सभा, सम्मेलन, गोष्ठी, सेमीनार र अन्तरक्रियामा हामीले पर्यावरण संरक्षणका निकै ठुला कुरा गर्छौ, अनेकन उपायहरु सुझाउछौ, कार्ययोजनहरु बनाउछौ । तर के हामीले आफ्नो जिवनमा त्यसको केही अंश आत्मसाथ गरेका छौ ? के दिवश मानाउनु मात्र हाम्रो कर्तव्य हो त ?



Tags: ,