
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने भएको छ । विद्यार्थी र शिक्षकबीचको अनुपात मिलाउने समेत सरकारको घोषणा छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिने बताउँदै शिक्षक दरबन्दी पुनरावलोकन गर्ने बताएकी हुन् । सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ भने कक्षा ११ र १२ मा एउटा पनि स्थायी दरबन्दी छैन । प्राविधिक धारका शिक्षण संस्थामा पनि शिक्षक अपुग छ ।
सरकारले गठन गरेको कार्यदलले सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक अभाव रहेको औँल्याएको थियो । राष्ट्रपति भण्डारीले विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलाउन गरिने बताइन् ।
त्यस्तै सरकारले विद्यार्थी दिवा खाजालाई कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि यस्तो नीति कार्यान्वयनमा आउने भएको छ । अहिले कक्षा ५ सम्म मात्र विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
सरकारले आगामी वर्ष अधिकतम स्कुलमा न्यूनतम पूर्वाधार निर्माणको काम सक्ने समेत बताएको छ ।

