
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।
संसद् सचिवालयले आजको बैठकका लागि विभिन्न आठबुँदे सम्भावित कार्यसूची तय गरेको छ । सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै अर्थमन्त्री शर्माले नै ‘बिमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल पश्चात् पारित गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संसद सचिवालयका अनुसार, आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
