सत्ता गठबन्धनले दुई दिनभित्र सिट बाँडफाँटको मापदण्ड तयार गर्ने

-


     मर्दी न्युज    
     ७ भदौ २०७९ मा प्रकाशित


काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिना निष्कर्ष टुङ्गिएको छ । मंगलबारको बैठकमा गठबन्धनले गठन गरेको कार्यदलले २ दिनभित्र सिट बाँडफाँटको मापदण्ड तयार गर्ने बताएको छ ।

जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुङ्ग्याउने सहमति भएको छ ।

‘हामी विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौँ । २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्र लगायत विभिन्न आधारमा छलफल भइरहेको छ’, पुरीले भने ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए । यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेता रकम च्याम्जुङ, जनमोर्चाबाट महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरी सहभागी थिए । सिटौला बिरामी भएपछि बैठककै बीचमा बाहिरिएका थिए ।