काठमाडौं । कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठको निधन भएको छ । नेपाली कांग्रेसकी नेतृ, पूर्वसांसद तथा समाजसेवी श्रेष्ठको गएराति १ः१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो ।
श्रेष्ठ मैयादेवी कन्या कलेजको संस्थापक पनि थिइन् । उनी २०४८ सालमा गोरखाबाट सांसद भएकी थिइन् भने राष्ट्रिय सभा सदस्य पनि भएकी थिइन् ।
आज बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उनको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र यसपछि उनी संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । पार्टीले शोक वक्तव्य जारी गर्दै आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ ।
उनको निधनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।