मंसिर १६ देखि आयोजना गरिने पोखरा औद्योगिक व्यापार मेला विशेष र फरक ढंगले हुनेः अध्यक्ष प्रजापति

-


     मर्दी न्युज    
     मंसिर २ गते २०७९ मा प्रकाशित


पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ को आयोजना फरक र विशेष खालको हुने जानकारी दिएका छन् । कोरोनाका कारण मेला लगातार तीन वर्ष स्थगित भएको जनाउँदै आउँदो मंसिरको १६ देखि २५ गतेसम्म ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ उद्यमशीलतासँग जोडेर आयोजना हुने र प्रभावकारी ढंगले आयोजना गर्न लागेको अध्यक्ष प्रजापतिले बताए ।

मेलाको तयारीबारे जानकारी दिन शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रजापतिले विभिन्न उपसमिति गठन गरेर काम अघि बढेको बताए । मंसिर १६ देखि २५ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलामा स्वरोजगारका लागि मेलाअवधिभर तालिम सञ्चालन गरिने पनि बताए । उनले तालिम दिने र कसरी सहभागी हुने भन्ने विषय अग्रिम सार्वजनिक गरिने पनि बताए । घरमै बसेर उद्यमी बन्ने कार्यक्रम समेट्ने र स्थानीय कृषि तथा हस्तकलाका उत्पादनलाई प्राथमिकता दिने योजना रहेको उनले बताए ।

पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजना हुने मेला सम्पन्न गर्न संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको छ । मेला सम्पन्न गर्न २५ वटा उपसमिति गठन गरेका संघले अतिथि सत्कार व्यवस्थापन उप–समिति संयोजक संघका निवर्तमान अध्यक्ष नारायण कोइराला चयन भएका छन् । स्टल निर्माण–व्यवस्थापन उपसमिति संयोजक संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की छन् भने सुरक्षा व्यवस्थापनको जिम्मेवारी उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी तथा प्रायोजक व्यवस्थापन वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सम्हाल्ने भएका छन् । प्रचार प्रसारको जिम्मेवारी महासचिव बलराम आचार्यलाई दिइएको छ ।

आर्थिक व्यवस्थापनमा संघका कोषाध्यक्ष दिनेशचन्द्र बास्तोला, सांस्कृतिकतर्फ उपमहासचिव शोभा गौतम, पर्यटनमा कार्यसमिति सदस्य प्रभा सुवेदी, बालउद्यानमा कार्यसमिति सदस्य बालकृष्ण कोइराला र प्रकाशन तथा उपहार व्यवस्थापनमा कार्यसमिति सदस्य सुदीप प्रधानांगलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार कार्यसमिति सदस्यहरु भरत केसी, दिलीपकुमार श्रेष्ठ, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी र सुदीप ओझालाई क्रमशः स्वास्थ्य, मुलद्वार, खानेपानी तथा वातावरण, स्थानीय समन्वय तथा पार्किङ र टिकट व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ ।

हस्तकला उपसमिति संयोजकमा वन्दना केसी कार्की, विद्युत् तथा टेलिफोनमा रामप्रसाद कट्टेल, स्टल बिक्रीमा जीवनप्रकाश श्रेष्ठ, संघ–संस्था व्यवस्थापनमा प्रेमप्रसाद सुवेदी, मञ्च व्यवस्थापन तथा वस्तुगत संघ समन्वयमा लेखनाथ सुवेदी, कृषि व्यवस्थापनमा लीलाधर चपाईं र उद्योग व्यवस्थापन उपसमितिमा युवकबहादुर बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।