जस्तोसुकै बाटो अपनाएर सत्तामा पुग्ने नीतिलाई लोकतन्त्र भन्न सकिदैनः अध्यक्ष ओली

-


     मर्दी न्युज    
     माघ २२ गते २०७९ मा प्रकाशित


काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता मोहले नेपालको राजनीति प्रणाली अराजक उन्मुख हुँदै गएको बताएका छन्। आइतबार संसद बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर भएपनि सत्ता प्राप्त गर्न जस्तोसुकै बाटो र विधिबाट अपनाएर सत्ता लिने नीतिलाई लोकतन्त्र भन्न नसकिने बताएको हो ।

उनले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् । उनले भने, “सत्ताका लागि नभइ सुशासन, भ्रष्टचार न्यूनीकरणका लागि साझा सहमति कायम गर्न सकिन्छ ।”

बहस र तर्कले जनताको पेट नभरिने र उद्योग पनि नफस्टाउने भन्दै उनले प्रश्न गरे, “कहिले देश र जनताप्रति इमान्दार भएर राजनीति गर्ने ?” बदलिँदो अवस्थामा राजनीतिक दल र सरकार नयाँ ढङ्गले अघि बढनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले राजनीति स्थिर भएन भने नागरिक र लोकतन्त्रमा असरपर्ने धारणा राखे ।

वर्तमान सरकारलाई आफूहरुले पूर्ण र रचनात्मक सहयोग गर्ने उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वका लागि अपिल गरे । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशको विकास र समृद्धिमा खेलेको भूमिका र प्राप्त उपलब्धिबारे जानकारी गराउँदै कमजोर बन्दै गएको आर्थिक अवस्था उकास्न गठबन्धनको सरकारले भूमिका खेल्ने बताए ।

“वर्तमान सरकारले अर्थतन्त्रलाई तत्काल सही दिशामा अघि बढाउँछ । अर्थतन्त्रको समस्या, स्टे«स र अर्थतन्त्रमाथिको दबाबलाई सम्बोधन गर्न कदम चाल्न सुरु भइसकेको छ,” उनले भने । अध्यक्ष ओलीले आगामी १० वर्षमा समृद्ध नेपाल सुखी नेपालीको माध्यमबाट विकसित मुलुकको सूचीमा स्तरोन्नति गर्ने दाबी गरे ।

यसअघि अध्यक्ष ओलीले गठबन्धनको सरकारको साझा न्यूनतम कार्यक्रमबारे चर्चा गरिरहँदा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा प्रवेशनै नपाएको कार्यक्रमबारे बैठकमा भनाइ राख्न नमिल्ने भनि आपत्ति जनाएका थिए ।