
एजेन्सी । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी करिब ८ हजार जनाको मृत्यु भएको छ । हालसम्म ७,८०० जनाको मृत्यु पुष्टि भइसकेको छ।
एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ।
उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीएका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् । करिब छ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको छ ।
सिरियासँगको सीमा क्षेत्रमा परिचालन भएका देशका सैनिकलाई उद्धारमा परिचालन गरिएको टर्कीएका रक्षामन्त्री हुलुसी अकरले बताएका छन् । सेनाको अङ्कारास्थित मानवीय सहायता गुल्म पनि सहायताका निम्ति काममा खटिएको छ । आठ वटा सैनिक टोलीले प्रभावित क्षेत्रमा सेवा खोजतलासका काम जारी राखेको छ । मन्त्री हुलुसीका अनुसार जल सेना पनि सहयोगका निम्ति तम्तयार छ ।
गाजीयान्तेप शहरका बासिन्दाले खेलमैदान, रङ्गशाला, किनमेल केन्द्र, मस्जिद र सामुदायिक केन्द्रहरूमा आश्रय लिएका छन् ।
टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गएको थियो।