संघीय संसदमा आज बजेट पेश हुँदै

-


     मर्दी न्युज    
     १५ जेष्ठ २०८० मा प्रकाशित


काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८०÷८१ को आयव्ययको विवरण (बजेट) संघीय संसदमा पेश गर्दै छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे बजेट प्रस्तुत गर्नेछन् ।

राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आएका छन्।

यस वर्ष आर्थिक मन्दीका कारण बजेटमा नयाँ कार्यक्रम नराखिएको अर्थमन्त्री महतले बताएका छन् । बजेटका अङ्क अर्थमन्त्रालयले टुङ्ग्याइसकेको छ। यद्यपि अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेट वक्तव्य भने आज सोमबार बस्ने मन्त्रीपरिषद् बैठकपछि मात्रै प्रकाशनका लागि पठाइनेछ।

१५ जेठमा अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।