प्रतिष्ठानको साधारणसभा सम्पन्न

-


     मर्दी न्युज    
     भाद्र १४ गते २०८३ मा प्रकाशित


पोखरा । पोखरा-११, रानीपौवामा अवस्थित शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २४ औं बार्षिक साधारणसभा यही भदौ १४ गते, आइतबार पोखरामा सम्पन्न भएको छ ।

संस्थाका संस्थापक सदस्य एवम् सल्लाहकार, विभिन्न संङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका अग्रज व्यक्तित्व डमर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तमुले संस्थालाई यहाँसम्म ल्याइपुर्याएका पूर्व अध्यक्षहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थालाई आवस्यक परेको जुनसुकै बेला सहयोग गर्न आफू सधैं तम्तयार रहेको कुरा व्यक्त गरे ।

कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष हुम तमु, संस्थाका अक्षयकोष दाता एवम् संस्थापक उपाध्यक्ष दुर्गा तमु, संस्थापक अध्यक्ष खेमबहादुर तमु, आजिवन सदस्य एवम् साहित्यकार गौरी तमु, संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर तमुले मन्तव्य राखेका थिए । सभामा बर्षभरिका संस्थाको गतिविधि समेटिएको प्रगति प्रतिवेदन सचिब कन्चन तमुद्वारा तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्याम तमुद्वारा प्रस्तुत गरि अनुमोदन गरियो ।

यही भदौ १० गते भोटेकोशीमा आएको बिपतले देशमा शोक छाइरहेको यो अवस्थामा सम्पूर्ण दिवङ्गत आत्माहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै कुनै तामझाम बिना सन्चालन गरिएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्रीजङ तमुको अध्यक्षतामा सम्पन्न गरियो । कार्यक्रम सचिव कन्चन तमुले सन्चालन गरेका थिए ।