‘ड्रागन बोट रेस’को उपाधी सिचुवान ड्रागनलाई

-


     मर्दी न्युज    
     असार ९ गते २०८० मा प्रकाशित


पोखरा । पोखरामा सम्पन्न पहिलो नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ । शनिबार भएको २ सय र ५ सय मिटरको अन्तिम रेसमा चीनको सिचुवान ड्रागन बोट टिमले दुवैमा स्पर्धामा जित निकाल्दै उपाधी जितेको हो । प्रतियोगितामा विजयी भएको सिचुवान ड्रागनले दुवै स्पर्धामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै नेपाली ‘नारा ड्रागन बोट टिम’ले २ र ५ सय मिटरको दुबै स्पर्धामा दोश्रो स्थान प्राप्त गर्दै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ प्राप्त गर्न सफल भएको छ ।

यसैगरी चीनकै युनान ड्रागन बोट टिमले दुवै स्पर्धामा तेश्रो हुँदै २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।

शुक्रबारबाट पोखराको फेवातालमा शुरु भएको प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले नगद १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यस प्रतियोगिताले पोखराको पर्यटनमा थप टेवा पुर्याउने विश्वाश व्यक्त गरे। उनले छोटो समयको तयारीमा पनि कार्यक्रम सफल भएको बताउँदै आगामी दिनमा नेपाललले पनि यस किसिमका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा एअर बसको सफल अवतरण भएको भन्दै अब जहाज संचालनका लागि आवश्यक तयारी गरिनुपर्ने बताए।

विजेता टोलीलाई अध्यक्ष तिमिल्सिना, मेयर धनराज आचार्य, नेपालका लागि चिनियाँ राजादुत चन सोङ लगायतले पुरूस्कार वितरण गरेका थिए।

तस्विरः मनशान्त घिमिरे