नेप्से घट्ने क्रम आज पनि रोकिएन, तीन दिनमा करीब ७० अंक घट्यो

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०८० मा प्रकाशित


काठमाडौँ । लगातार तेस्रो दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २८ दशमलव ४० अङ्कले घटेर दुई हजार १९ दशमलव ८५ विन्दुमा झरेको छ । योसँगै पछिल्लो तीन दिनमा परिसूचक करीब ७० अंक घटेको छ ।

आज मंगलबार सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटेल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै गुराँस फाइनान्सको शेयर आठ प्रतिशत तथा विजय लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन सबैभन्दा धेरै स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ ।

मंगलवार २६५ धितोपत्रको ४८ लाख ६० हजार ७४१ कित्ता शेयर ७४ हजार २५७ पटकमा रू. १ अर्ब ७३ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका धितोपत्रमध्ये स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७५९ पुगेको हो ।

शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा नेपाल रिपब्लिक मिडिया छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. ३३३ दशमलव १० कायम भएको छ ।

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा आइएमई लाइफ इन्स्योरेन्सले ओगटेको छ । कम्पनीको रू। १७ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ५८९ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू। ६ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको परिसूचक २ दशमलव ७० प्रतिशत घटेको हो । यस्तै वित्त समूहको परिसूचक २ दशमलव ६९ प्रतिशत घटेको छ ।