
लेखनाथ । पंछी र तिनको बासस्थान संरक्षण साथै जनचेतनामूलक कार्यहरू गर्दै आइरहेको अग्रणी संस्था पोखरा पन्छी समाजको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका –३१ बेगनासताल, नहरचोकस्थित होटल मकाउको सभाहलमा शनिवार सम्पन्न भएको हो ।
उदघाटन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले पन्छी समाजले गरेका कामहरुको सराहना गर्दै आवश्यक सहयोग र हातेमालो गर्ने बताए । कार्यक्रमका विशेष अतिथि एवम् पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पंछी अबलोकन पर्यटनको विकाश र प्रबर्द्धन गर्नुपर्ने बताए । पर्यटन क्षेत्रलाई छिटो माथि उकास्न चरा अवलोकन गर्ने पर्यटनलाई प्राथमिकतामा राखे मात्र सम्भव हुने बताए । उनले प्रबर्द्धनको शिलशिलामा बाहिर तिर जाँदा बेगनासताललाई प्राथमिकतासहित प्रचारप्रसार गरेको बताए।
यसैगरी पोखरा पंछी समाजका सल्लाहकार जीवनराज सापकोटाले चर्यटनको नयाँ आयाममध्ये चरा पर्यटन महत्वपूर्ण भएको बताए ।
शुभकामना मन्तव्य राख्ने अतिथिहरुमा सिड फाउन्डेसनका अध्यक्ष तथा स्थानीय समाजसेवी दामोदरभक्त थापा, बेगनास धार्मिक पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीलगायतका व्यक्तिहरुले सामुदायिक वनको अवधारणले वन संरक्षणमा टेवा पुग्नका साथै चराचुरुङ्गीका लागि पनि सहज भएको बताए ।
कार्यक्रमको दौरानमा पंछी संरक्षणको क्षेत्रमा भएका गतिविधि र अहिलेको अवस्था बारेमा अमृत पौडेलले डिजिटल प्रस्तुति राखेका थिए । साधारण सभामा पोखरा पन्छी समाजले केहि समय अगाडि सम्पन्न गरेको सचेतनामुलक फोटोग्राफी प्रतियोगिताका विभिन्न बिधाका बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो।
समाजका अध्यक्ष मनशान्त घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव हेमन्त ढकालले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शेष कान्त शर्माले राखेका थिए ।