पर्वतमा चितुवा मृत फेला

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०८० मा प्रकाशित


पर्वत, १५ भदौ । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।

स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।

वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९÷८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।