
पोखरा, ११ मङ्सिर । बेगनासताल मत्स्य व्यवसायी समितिले रामसार सूचीमा सूचीकृत बेगनास तालमा मोटरबोट सञ्चालन रोक्का गरिदिन माग गरेका छन् ।
आज सोमवार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउँदै ५४ घर परिवारको जीविकोपार्जनलगायत वातावरणमा प्रत्यक्ष असर पुगेको भन्दै रोक्का गरिदिन माग गरेका हुन् । उक्त घर परिवारका २५० जना जलारी प्रत्यक्ष रुपमा यसैमा आबद्ध भएको जनाउँदै केही व्यक्तिको फाइदाका लागि सञ्चालित मोटरबोट रोक्का गरिदिन माग गरेका हुन् ।
मोटरबोट चलाउँदा ठूलो छाल आई वरीपरि किनारमा पहिरो गई बाटोदेखि घर नै जोखिम भएको व्यवसायीहरुले उल्लेख गरेका छन् । यस्तै स्थानीय माछाले अण्डा छोडी ब्रिडिङ गर्ने बेला पानीको छालले माछाको अण्डा बिगार्ने हुनाले स्थानीय माछा लोभ हुने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
यस्तै मोटरबोट सञ्चालनमा आउँदा त्यसको ठूलो छालले माछाको बढ्ने क्षमतामा ह्रास आउनुका साथै बृद्धिदर नबढ्ने, केही माछा मरिरहेको अवस्थामा भेटिएको, पेट्रोलको चुहावट तथा त्यसबाट फ्याँक्ने धुँवाले वातावरण प्रदुषण गरेकोले यसलाई रोक्न माग गरेका छन् ।
यसैगरी जलारीले माछा मार्न प्रयोग गर्ने डुङ्गा सानो हुने र मोटरबोट सञ्चालन गर्दा जलारीको डुङ्गा पल्टने र दुर्घटनाको जोखिम बढाएकाले पनि उक्त मोटरबोट सञ्चालनमा पूर्ण रोक लगाइदिन महानगरका प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको राजेन्द्र जलारीले बताए ।
मोटरबोट बेगनास डुङ्गा व्यवसायी समिति र स्थानीय व्यवसायीको संयुक्त लगानीमा ल्याइएको हो । बेगनासमा करीब २५० को हाराहारीमा डुङ्गा व्यवसायी छन्। अधिकांश परम्परागत काठका डुङ्गा चलाउँछन्। त्यसलाई बेवास्ता गर्दै आन्तरिक पर्यटकलाई आकर्षित गर्न भनेर तालको वातावरण नै प्रभावित पार्ने गरी मोटरबोट ल्याइएको हो।
गत भदौमा बेगनास डुङ्गा व्यवसायी समिति र लेखनाथमा रहेका व्यवसायीले संयुक्त रूपमा मोटरबोट ल्याएपछि बेगनासका स्थानीय, व्यवसाय गरिरहेका व्यक्ति, जलारी समुदायले यसअघि पनि यसको विरोध गरिरहेका थिए ।


