
पोखरा । विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई कम्प्युटर ल्याब तयारीसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । पोखरामा रहेको कर्म फ्लाइट्स फाउडेशन नेपाल र एडुटेक नेपालको सयुक्त लगानी तथा विद्यालयहरुको समेत सहलगानी रहने गरी तालिम प्रदान गरिएको हो ।
रुकुमपूर्व, पुथाउत्तरगंगा गाउँपालिका हुकामका देउराली माध्यमिक विद्यालय तथा बागलुङ्ग ढोरपाटन नगरपालिकाका घोसाखानी मा.वि र काठेखोला गाउँपालिकास्थित अमर मा.वि.मा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न हुने गरि ल्याब कक्षा कसरी तयारी गर्ने सम्बन्धि अभिमुखीकरण तालिम प्रदान गरिएको जनाइएको हो । पोखरा–८ सिमलचौरस्थित जनप्रिय माविको कम्प्युटर ल्याबमा संञ्चालित अभिमुखीकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविप्रसाद बस्ताकोटीले टाढाका विद्यालयबाट आएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा कम्प्यूटर शिक्षकहरुलार्इ स्वागत गर्दै दुर्गम र सुगमका विद्यालयहरुको दुरी प्रविधिमैत्री शिक्षाले जोड्ने बताए । उनले आफ्नो विद्यालयमा बनेको जस्तै उत्कृष्ट ल्याब बनाउन र एक्काइसौँ सताब्दीको समयसापेक्ष शिक्षा प्रदान गर्न शुभकामना दिए ।
कर्मफ्लाइट्सका कार्यक्रम निर्देशक प्रेम ब. कुँवरले यसै आर्थिक वर्षमा ल्याब बनाउन छनोट चरणहरु पार गरि कम्प्युटर ल्याब कक्षा तयारी गर्ने चरणमा प्रबेश गरेकोमा बधाई ज्ञापन गरे । उनले ल्याब तयारीबारे राम्रोसँग बुझेर समय सिमाभित्रै मापदण्ड अनुसारको ल्याब कक्षा तयार गरी समयमै कम्प्युटर जडान गरिने बताए । थिन क्लाइन्ट सिष्टमबाट २ वटा शक्तिशाली सर्भरद्वारा संचालित ल्याब कक्षमा २० वटा वोर्किङ स्टेशनसहितको ल्याब स्थापना हुने बताए । उनले सम्बन्धित स्थानिय निकाय÷विद्यालय, एडुटेक नेपाल र कर्म फ्लाइट्सको त्रिकोणात्मक सह लगानीमा प्रति ल्याव करिब १३ लाखमा तयार हुने जानकारी दिए । ल्याब स्थापन पश्चात विद्यालयका शिक्षकहरुलाई कम्प्युटर संञ्चाल सम्बन्धि तालिम प्रदान गरिने र ल्याबको दिगो सञ्चालका लागि निरन्तर तालिम र कन्टेन्ट अपडेट गर्ने काम संस्थाले गर्ने जनाए ।
विद्यालयले प्रत्येक वर्ष मर्मतसम्भार कोषका रुपमा रु ४० हजार जम्मा गर्नुपर्ने कम्प्युटर प्रशिक्षक सुबास पौडेलले जनाए । समझादरी पत्रमा हस्ताक्षर समारोहमा बोल्दै काठेखोला गाउँपालिका वडा नं.५का वडाध्यक्ष एवम् अमर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका ज्ञामनाथ कँडेलले मापदण्ड अनुसारको ल्याब समयमै बनाएर विद्यार्थीहरुलाई सिकाई सहजीकरण प्रयोगमा ल्याउन आफूहरु हौसिएको बताए ।

