वर्डक्याम्प नेपालको २०२४ को तयारी तीव्र

-


     मर्दी न्युज    
     पुस ७ गते २०८० मा प्रकाशित


पोखरा, । पोखरामा हुने वर्डक्याम्प नेपालको छैठौँ संस्करणका लागि तयारी तीब्र पारिएको छ । शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आउँदो जनवरी १२ र १३ मा हुने वर्डक्याम्प नेपालको छैठौँ संस्करणका लागि तयारी तीब्र पारिएको आयोजकले बताए ।

वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ। पछिल्लो पटक सन् २०२२ मा भरतपुरमा सफलतापूर्वक सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको हो । सूचना प्रविधिको क्षेत्रमा नेपालमा आयोजित सम्मेलनहरुमध्ये वर्डक्याम्प एक ठूलो सम्मेलन हो । कार्यक्रममा पोखराभन्दा बाहिरका ४०० स्वदेशी तथा २५० विदेशीको सहभागिता रहने आंकलन गरिएको छ।

वर्डक्याम्पहरू अनौपचारिक तथा स्थानीय रूपमा संगठित सम्मेलनहरू हुन् जसले वर्डप्रेस सफ्टवेयरसँग सम्बन्धित विभिन्न विषयहरुका बारेमा जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको वर्डप्रेस नेपालले जनाएको छ । वर्डप्रेस एक निःशुल्क तथा खुला स्रोतको सफ्टवेयर हो जसको प्रयोगले आज विश्वभरिका झन्डै ४२ प्रतिशत वेबसाइटको उत्पादन र सञ्चालनमा प्रत्यक्ष सहयोग पुगेको छ।

विश्वमा पहिलो वर्डक्याम्प सन् २००६ मा वर्डप्रेसका सहसंस्थापक म्याट मुलेनवेगको अगुवाईमा अमेरिकाको सान फ्रान्सिस्कोमा सम्पन्न भएको थियो । त्यसयता विश्वभरका वर्डप्रेस सम्बद्ध स्थानीय समुदायहरूको सहकार्यमा सयौं अरू वर्डक्याम्पहरु सफलता पुर्वक सम्पन्न भएका छन्। आजका दिनसम्म, ६५ देशका ३९१ शहरहरूले ११७२ वर्डक्याम्पहरू सम्पन्न गरिसकेका छन्। नेपालमा हालसम्म काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल जस्ता सहरमा १५ वटा सहर आधारित तथा देशव्यापी वर्डक्याम्पहरु सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।

जनवरीमा हुने वर्डक्याम्प नेपाल २०२४, नेपालका लागी एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने यामबहादुर क्षत्रीले जानकारी दिए । उनले यो वर्डप्रेस उत्साहीहरू बीच ज्ञान आदानप्रदान र सहकार्यलाई बढावा दिने परम्परालाई निरन्तरता दिँदै देशमा आयोजित हाल सम्मकै सबैभन्दा ठूलो वर्डक्याम्प हुने बताए । छैठौं संस्करणलाई सबै सहभागीहरूका निम्ति अविस्मरणीय, अनुभव दिने प्रतिज्ञाका साथ अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी र आकर्षक संस्करणका रूपमा चित्रण गरिएको निशाल गुरुङले जानकारी दिए। कार्यक्रममा नेपाल, भारत, अमेरिका, हङ्गकङ्ग, युरोपियन मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रहरु बाट झन्डै १००० जना भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने उनले जनाए ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ। जसमा बिहानदेखि बेलुकासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण हुनेछ।

सम्मेलनमा हालसम्म बंगलादेश बाट ३ जना, भारत बाट ५ जना, जर्मनी बाट १ जना, स्विजरल्याण्ड बाट १ जना, अमेरिका बाट १ जना र नेपाल बाट १८ जना गरी २९ जना वक्ताहरू आउने निधो भइसकेको र थप १५ वक्ताहरू चयनको प्रक्रियामा रहेका छन्। नेपाली वक्ताहरूमा डा. महावीर पुन समेत सामेल हुनेछ।

वर्डक्याम्प नेपाल २०२४, पार्दी, बिरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुनेछ। सहभागिताका लागि यस कार्यक्रमको अधिकारीक वेभसाइटमा गइ अथवा खल्ती एपबाट टिकट खरिद गर्न सकिनेछ।

दुई प्रकारका टिकट उपलब्ध छन्, जसमा रु. ५०००/- को माइक्रो प्रायोजक टिकट वा रु.२०००/- को साधारण टिकट खरिद गर्न सकिन्छ। साधारण टिकटमा खल्ती एप बाट ‘WCNP2024’ प्रोमो कोड राखी रु. २००/- छुट प्राप्त गर्न सकिन्छ। हालसम्म ५५० टिकट बिक्री भइसकेको छ । टिकटमा एउटा टि-शिर्ट, सम्मेलनका दिनको ब्रेकफास्ट, खाना, कफीका साथै कार्यक्रममा हुने सम्पूर्ण सत्रहरू समावेश गरिएको छ।

यस पटक, वर्डक्याम्प नेपालको आयोजकका रुपमा पोखरा, भरतपुर, काठमाडौँ, भक्तपुर, बुटवल, विरगंज, विराटनगर तथा भारत र क्यानेडा समेतका गरेर ३८ जनाको आयोजक समिति रहेको छ । कार्यक्रमको ग्लोबल लिडको रुपमा यम बहादुर क्षेत्री र लोकल लिडको रुपमा निशाल गुरुङ रहेका छन् ।