भोलिदेखि पोखरामा “वर्डक्याम्प नेपाल २०२४” हुँदै

-


     मर्दी न्युज    
     २६ पुस २०८० मा प्रकाशित


पोखरा । “वर्डक्याम्प नेपाल”को छैठौँ संस्करण भोलिदेखि पोखरामा शुरु हुँदैछ । शुक्रबार र शनिवार पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ। पछिल्लो पटक सन् २०२२मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको कुराले नेपालमा रहेका वर्डप्रेस सम्बद्ध समुदाय उत्साहित छन्। सूचना प्रविधिको क्षेत्रमा नेपालमा आयोजित सम्मेलनहरुमध्ये सबैभन्दा ठुलो सम्मेलनका रुपमा लिइने यस कार्यक्रमलाई कतिपयले सूचना–प्रविधिको महाकुम्भ मेलासमेत भन्ने गरेको पाइन्छ।

पोखरामा पनि ‘माइस’ पर्यटन अन्तर्गत पर्ने यस्ता ठूला विश्वस्तरका सम्मेलन गर्न सम्भव रहेको, र यस्ता कार्यक्रमको लागि पोखरा उत्कृष्ट गन्तव्य रहेको जानकारी सूचना–प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा प्रचार हुने विश्वास गरिएको छ। कार्यक्रममा पोखरा भन्दा बाहिरका ४०० स्वदेशी बंगलादेश, भारत, अमेरिका, मलेसिया, युरोपियन मुलुकहरु, जस्ता विभिन्न राष्ट्रहरु बाट २०० गरी झन्डै १००० जना भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने छ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ। जसमा बिहान देखि बेलुकासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधिसम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण दिने कार्यक्रम रहेको लोकल लिड निशाल गुरुङले जानकारी दिए ।

वर्डप्रेस र सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले वेभ डिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ्ग, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन, मेसिन लर्निङ, आर्टिफिशियल इन्टेलिजेन्स, वर्डप्रेस समुदायको विकास लगायतका अन्य थुप्रै विषयहरुमा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधिका नविन आयामहरुबारे जानकारी प्रदान गर्ने उनले बताए । हालसम्म बंगलादेश बाट ४ जना, भारत बाट ६ जना, जर्मनी बाट १ जना, स्विजरल्याण्ड बाट १ जना, अमेरिका बाट १ जना र नेपाल बाट ३० जना गरी ४३ जना वक्ताहरूले सत्रहरू प्रस्तुत गर्नेछ। नेपाली वक्ताहरूमा डा. महावीर पुनसमेत सामेल हुने आयोजकले जनाएको छ।

सम्मेलनमा अन्तरक्रियात्मक कार्यशालाहरू, नेटवर्किङ अवसरहरू, प्रायोजक प्रदर्शनीहरू र योगदानकर्ता दिवस हुनेछन। कार्यक्रममा स्वदेशी तथा विदेशी २८ प्रायोजकहरु जोडिएका छन्, पेमेन्ट पार्टनरमा खल्ती, इन्टरनेट पार्टनरमा वर्डलिंक तथा मेडिकल पार्टनरमा मणिपाल शिक्षण अस्पताल जोडिएको छ।

यस्ता उत्कृष्ट अन्तर्राष्ट्रिय सम्मेलनले पोखरा र नेपालकै सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यक्ति तथा कम्पनीहरूलाई आपसी सहयोग, सहकार्य तथा नेपालको अन्तर्राष्ट्रिय सूचना–प्रविधि बजारमा प्रचार हुने विश्वास लिइएको छ।