काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
१३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।
तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै विपक्षी दलहरुले प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बालकुमारीघटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताए ।
उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीले समेत राजीनामा दिनुपर्ने बताएका छन् । पन्तले भ्रष्टाचार मुद्दामा अख्तियारमा बयान दिइसक्दा पनि पदबाट राजीनामा नदिएको भन्दै तत्काल हटाउन सरकारको ध्यानाकर्षण समेत गराए।
भ्रष्टाचार मुद्दामा मन्त्री बस्नेतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान दिएको दावी गर्दै सांसद पन्तले तत्काल उनलाई हटाउनुपर्ने माग गरेका हुन्। उनले भ्रष्टाचामा मुछिएका व्यक्तिलाई क्याविनेटमा किन राखेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरे। ‘अख्तियारमा बयान दिइसकेको मन्त्री क्याबिनेटमा बस्छ ? उनले भने, ‘नैतिकता छ भने प्रधानमन्त्रीले जवाफ दिनुस् ।’ पन्तले स्वास्थ्यमन्त्रीलाई कुनै पनि हालतमा पदमा बसिरहन नैतिकताले नदिने बताए।
गत फागुन ६ गते बसेको बैठकमा नै सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभामुखले शून्य समय सुरु गरे । तर एमाले, रास्वपा र राप्रपा तीनवटै दलका सांसदहरु उठेर विरोध गरे । आफूहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै विपक्षी सांसदहरु आ–आफ्नो स्थानमा उभिइरहे ।
बस्नका लागि पटकपटक आग्रह गर्दा पनि विपक्षीले अवरोध जारी राखेपछि सभामुखले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरे । सभामुखको रुलिङसँगै संसद सुचारु भएको छ ।