आजको मौसम पूर्वानुमानः यी प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा र हावाहुरीको सम्भावना

-


     मर्दी न्युज    
     १४ बैशाख २०८१ मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने देशभर आंशिक बदली देखि मौसम सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।