चामेमा खोलिएको रक क्लाइम्बिङ्ग रुटले पर्यटन क्षेत्रमा चहलपहल बढ्नेः ब्यबसायी उत्साहित

-


     शेषकान्त शर्मा    
     वैशाख २६ गते २०८१ मा प्रकाशित


अन्तर्राष्ट्रिय स्तरको फ्रान्सेली रक क्लाईम्बिङ्ग प्रशिक्षक लुडोभिक गियामबेशी र उहाँको टिम (जसमा चर्चित नेपाली रक क्लाइम्बर पन्चमाया तामाङ र लक्मी तामाङ पनि थिए) ले यही २०८१ बैशाख ९ गते देखि २१ गतेसम्मको छोटो समयमा ५ वटा क्लाईम्बिङ्ग रुटको पहिचान, सरसफाइ, र बोल्टिङ्ग गरेका छन् । जम्मा ५ वटा रुटमध्ये ३ वटा छिम्बुको पहरामा छन भने एउटा कोतोको पहरामा छ ।

चट्टान आरोहणको गतिविधिको लागि चट्टानको गुणस्तर पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। स्यान्डस्टोन नामक चट्टानमा बनेका आरोहण रुटहरुमा फ्रेन्च ड्रीलिङ्ग मेसिनद्वारा ड्रील गरि अन्तर्राष्ट्रिय गुणस्तरका बोल्ट र रिङ्गहरु फिट गरिएको छ भने प्रत्येक बोल्टको भार बहन क्षमता २५ टन रहेको छ ।

अहिले बनेका रुटहरु प्रारम्भिक आरोहण तालिम देखि लिएर अत्यन्तै अनुभवी आरोहिहरुले आरोहण गर्ने मल्टिपल पिच समेतको भएको प्रशिक्षक लुडोभिक ले बताए ।

आगामी दिनमा थप चारसय मिटर (चुचुरो तर्फ) सोही प्रकृतिको ड्रीलिङ्ग, सरसफाइ तथा बोल्टिङ्ग गर्नुपर्ने देखिन्छ। प्रशिक्षक लुडोभिकको नेपाल प्रेमका कारण मनकारी फ्रान्सेली सहयोगदाताहरु बाट केही सहयोग उठेपछि उत्साहित भएर नेपालमा पनि सहयोग खोजिगर्दा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आर्थिक सहयोग गर्न र नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले समग्र कामको संयोजन गर्न साथै चामे गाउँपालिकाले उचित साथ समर्थन गर्ने भएपछि काम अगाडि बढेको लुडोभिकले पत्रकार भेटघाट कार्यक्रममा बताए ।

पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिसकिएको सन्दर्भमा अन्नपूर्ण तथा धौलागिरी क्षेत्रमा परम्परागत पर्यटन (पदयात्रा, धार्मिक तिर्थयात्रा आदि) संतोषजनक रूपमा सुचारु भएतापनी पर्वतारोहण, चट्टान आरोहण जस्ता साहसिक पर्यटनको अपेक्षित प्रगति हुन सकेको छैन ।

पर्यटन ब्यबसायी तथा कामदार कर्मचारीहरुले पनि सोचेजस्तो व्यावसायिकता देखाउन नसकेको अहिले चामेमा भएको काम प्रदेशमै यस किसिमको पहिलो काम हो। बिश्वका पर्यटकहरुले चामे पुगेपछी केहीदिन त्यही बसेर सुन्दर हिमालहरुको अबलोकन गर्दै चट्टान आरोहण गर्ने र त्यसपछि ट्रेकिङ गर्दै अन्यत्र जाने विकल्प दिन्छ र गण्डकी प्रदेशमा पर्यटकहरुको बसाई लम्ब्याउन सहयोग पुर्याउछ जसका लागी युवाहरूलाई प्रोत्साहन र चट्टान आरोहण बिधाले भबिस्यमा ल्याउन सक्ने सुनौलो अबसरहरु बारे जानकारी दिनुपर्छ।

चट्टान आरोहणको बारेमा भर्खरै सम्पन्न उक्त काम, नेपालको भबिष्यको संभावना, बिश्वब्यापी बजार स्थिति बारेमा पर्यटन ब्यबसायी, मजदुर तथा संचारकर्मीहरु लाई जानकारी दिने उदेश्यले हिजो बैशाख २५ गते नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको सभाहलमा गरिएको भेटघाट कार्यक्रममा प्रशिक्षक लुडोभिकको तथ्यपरक प्रस्तुति रहेको थियो ।

चट्टान आरोहण तथा पर्वतारोहणलाई नितिनिर्माण तहबाटै समेट्न पहल गर्ने कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रालयका सचिब कुमान सिंह गुरुङले बताउनुभयो भने प्रवर्द्धन को लागि सदा तत्पर रहेको बिशेष अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख नवीन पोखरेलले बताए ।