गुरुङ भाषाको पुस्तक ‘तमु क्युई’ लोकार्पण

-


     मर्दी न्युज    
     भाद्र ३० गते २०८१ मा प्रकाशित


मुग्लिन (चितवन) ३० भदौ । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमु क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरूङले लोकार्पण गरेको हो ।

पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमु ह्युल छोंज धींले पहिलोपटक पुस्तक प्रकाशन गरेको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरूङले बताए । पुस्तकका लेखक तुलमान गुरूङले गुरूङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताए ।

यसैबिच तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्ले शनिबारदेखि तमु भाषा कक्षा सञ्चालन गरेको छ । गुरुङ समुदायमा आफ्नो मातृभाषा जान्नेहरूको सङ्ख्या कम हुँदै गएपछि यसको संरक्षणको लागि कक्षा नै सञ्चालन गर्नुपरेको ह्युल छोंज धींकी अध्यक्ष विमलादेवी गुरूङले बताए । ह्युल छोंज धींले भाषा नजान्नेहरूका लागि गतवर्षदेखि नियमित कक्षा सञ्चालन गर्न थालेको हो ।