पोखरा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।