राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशनको दसौं साधारण सभा सम्पन्न

-


     मर्दी न्युज    
     असाेज ५ गते २०८१ मा प्रकाशित


पोखरा । राष्ट्रिय शिक्षक सीप विकास (एन्फोर्स्ड्ट) फाउण्डेशन कास्कीको दसौं साधारण सभा तथा ५औ अधिवेशन सम्पन्न भएको छ। शिक्षकहरुलाई आफनै बिद्यालयमा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गर्न १२ वर्ष अघि स्थापित भएको राष्ट्रिय शिक्षक शीप विकास (एन्फोर्स्ड्ट) फाउण्डेशन कास्कीको १०औ वार्षिक साधारण सभा तथा ५औ अधिवेशन हालै सम्पन्न भएको हो।

अधिवेशन कार्यक्रमबाट संस्थाका निवर्तमान अध्यक्ष्यद्वय सालिकराम अधिकारी र विश्वराज बाँस्तोलाको निर्बाचन मण्डलले प्रेमबहादुर कुँवरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्बाचित भएको घोषणा गरे । निर्वाचित हुने कार्यसमितिको उपाध्यक्ष डिल्लीराम अधिकारी, सचिव सशिधर बराल, कोषाधक्ष्य शोभा मिश्र अधिकारी, सहसचिवमा गोबिन्द गौतम र कार्यसमिति सदस्यहरुमा नरेश तिमिल्सिना, रक्षबहादुर क्षत्री, माधवी बाँस्तोला शीला थापा, श्रीकृष्ण अधिकारी रहेका छन्। एक जना सदस्य पछि कार्यसमितिबाट चयन गरिने छ।

साधारण सभा कार्यक्रमको समुद्घाटन गर्दै आमन्त्रित प्रमुख अतिथि प्याब्सन कास्कीका अध्यक्ष्य मथुराप्रसाद पौडेलले संस्थाले संचालन गरिरहेको शिक्षक तालिमको बारेमा आफु साक्षात्कार हुन पाएको र आगामी दिनमा प्याब्सन कास्कीसंग सहकार्य गरि तालिम संचालन गर्न आग्रह गरे । उनले व्यवहारिक ज्ञान, सिप र अनुभवबाट लैस भएका योग्य र व्यवसायिक शिक्षक बनाउन तालिमको महत्व भएको बताउंदै एक आपसका विज्ञता आदान प्रदान गरि शिक्षकहरुको क्षमता अभिवृद्धि गराउन बिध्यार्थीलाई जिज्ञासु र खोजमुलक कार्यमा लगाउन पर्ने कुरामा जोड दिए।

विशिष्ठ अतिथि पृथ्वी नारायण क्याम्पसका प्रा डा रामजीवन यादबले सिकाइको नया आयाम ‘पुस्तक बन्द गर र ढोका खोल’ भन्ने भनाइले आफुलाई छोएको बताउंदै भोलिका दिनमा शिक्षकले किताबबाट मात्र पढाएर अबका २१औ सताब्दिका बिध्यार्थीहरुको सिकाइ आवश्यकता पुरा हुन नसक्ने भएकोले विद्यार्थीका कुरा धैर्यताका साथ राम्ररी सुन्ने , अन्तरक्रिया गर्ने र ‘आउट अफ बक्स’ सोच्ने बनाउनु बताए ।

आमन्त्रित अतिथि शिव शक्ति क्याम्पसका संचालक समिति अध्यक्ष्य तुबराज बास्तोलाले आफ्नो क्याम्पसलाइ साझेदार तालिम प्रदायक संस्थाको रुपमा केन्द्रमा राखेर क्याम्पस पढ्दै गरेका बिद्यार्थी र बिद्यालयमा पढाइरहेका अनुभबी शिक्षकहरुलाई संगै राखेर तालिम दिनु अत्यन्तै सर्हानीय कुरा बताउदै सिकाईले शिक्षकहरुलाई थप टिक्न र बिक्न सक्ने बनाउनु पर्ने बताए।

नेदरल्यान्ड्सको बिस्वबिद्यालयहरुका प्रशिक्षकहरुबाट क्याम्पसमा तालिम चलिरहेको आफुलाई प्रत्यक्ष्य अनुभब भएको बताउंदै संस्थाले तालिम दिनको लागि पोखरा र बाग्लुङ्गमा मात्र नभई भूगोल बिस्तार गरि गण्डकी प्रदेश भरि फैलाउनु पर्ने सुझाब दिए।

कार्यक्रममा फाउण्डेशन फर नेप्लिज ब्लाइण्ड स्टुडेण्ट्सका अध्यक्ष बिन्दु कोइराला सुबेदी, सल्लाहकारको तर्फबाट प्रा गणेश तिमिल्सिना लगायतले बोल्नु भएको थियो भने संस्थागत सदस्य शैक्षिक संस्थाहरु शिव शक्ति क्याम्पसका प्रमुख तथा एल ए सेकेण्डरी, तारकुंज सेकेण्डरी, केफ सेकेण्डरी, बाल प्रभात, गौरीशंकर मावि, भास्कर मेमोरिएल, हार्वर्ड एकेडेमीका प्राचार्यको उपस्थित थिए भने केपिजेड बिश्वबिद्यालयका प्राध्यापक बर्ट र क्रिस्टिनाको भिडियो संदेशमार्फत शुभकामना सुनाइएको थियो।

संस्थाका अध्यक्ष्य संस्थाको आ ब २०८०÷८१ मा सम्पादित वार्षिक प्रगति प्रतिबेदन पेश गर्दै संस्थाले बाग्लुंग र कास्कीमा अन्तराष्ट्रिय शिक्षक तालिम संचालन गर्दै आएको र यो बर्ष २ बर्षे तालिमको कोर्स चैत्रमा सम्पन्न हुने बताउदै शिक्षकहरुको क्षमता विकास गर्नको लागि र शिक्षक तालिमको अभाव थोरै भएपनि कम गराउन निस्वार्थ पहल गरेको, नेदरल्यान्ड्स र नेपालका मौलिक शिक्षण पद्दतिहरु र असल अभ्यासहरु आदान प्रदान गर्दै आएको, सन् २०१९ मा टिचर्स इन पोखरा नामक अन्तरास्ट्रिय शिक्षक सम्मेलन आयोजना गरिसकेको बताए ।