काठमाडौँले पोखरालाई ६ विकेटले हरायो

-


     मर्दी न्युज    
     २९ मंसिर २०८१ मा प्रकाशित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौँले १४ ओभरमै पूरा गर्‍यो।

यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौँको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले । उनले उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए ।

साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक÷एक रन जोडे ।

पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन÷तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक÷एक विकेट लिए ।