जापानको ओसाकामा प्रथम नेपाल फेस्टिवल सुरु

-


     सन थापा    
     वैशाख १३ गते २०८२ मा प्रकाशित


ओसाका (जापान), १३ वैशाख । नेपाली कला, संस्कृति, र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले जापानको ओसाकामा प्रथम नेपाल फेस्टिवल शनिबारदेखि सुरु भएको छ ।

फेस्टिवल नेपाली राजदूतावास टोकियोको सहकार्यमा गैर–आवासीय नेपाली संघ जापान (एनआरएनए) कान्साई क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा कान्साई क्षेत्रका विभिन्न संघसंस्थाको सहआयोजनामा भएको हो । कान्साई क्षेत्रमा पहिलो पटक आयोजना गरिएको उक्त महोत्सवमा खाद्य तथा रेष्टुरेण्टका १० र सेवामूलक १२ ओटा स्टल राखिएका छन् ।

महोत्सवको प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले संयूक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले कान्साईबासी नेपालीहरूको एकता, सौहार्दता, सहकार्य, र सहयोगको आदान–प्रदान मात्र नभई जापानबासीसॅंग मैत्रीपूर्ण रूपमा मिलेर बसेका छौ भन्ने सन्देश महोत्सवले प्रवाहित गरेको बताए । उनले भने, दुईदिने प्रदर्शनीले हाम्रो मौलिक कला, सॅंस्कार, सॅंस्कृति, पहिचान, पोशाक र बिशेषगरी नेपालीपनलाई उजागर गर्ने र नेपाली , संस्कृति, पर्यटन प्रवर्द्धन र नेपाली ईज्जत प्रतिष्ठालाई थप योगदान पुर्याउनेछ भन्ने बिश्वास व्यक्त गर्दछु।

यसैबिच ओसाका कान्साई एक्स्पो २०२५ मा नेपालको सहभागितामा केही प्रश्न उठ्नु स्वभाविक रहेको र नकारात्मक रूपमा मात्र लिन नहुने भन्दै नेपाली दूतावासले पहल नगरेर नेपालले सहभागिता लिन नसकेको कुरा सत्य नभएको बताए । राजदूत सुबेदीले भने, नेपाल सरकारले जसलाई जिम्मेवारी दिएको छ, त्यसले अन्तिम किस्ता रकम नेपाल मण्डप पेभिलियोन निर्माण गर्ने कम्पनीलाई तिर्न नसकेको हुनाले रोकिएको हो, रकम तिर्नुपर्छ भनेर नेपाल सरकार, जापान सरकार, नेपाली राजदूतावास जापानले पहलकदमी गरिहेको छ र नेपाल मण्डप, नेपाल पेभिलियोनको ढोका खुल्नेछ, जापानबासी नेपालीहरूको मनको ढोका पनि खुल्नेछ भन्ने बिश्वास दिलाउन चाहन्छु।

कार्यक्रममा गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नवीन निउरे, गैर आवासीय नेपाली संघ जापान अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन गौचन, गैर आवासीय नेपाली संघ जापान अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष देवमान हिराचन,ओसाका प्रान्तका अन्तर्राष्ट्रिय विनिमय पर्यवेक्षक, इचिसाका हिरोफुमी,ओसाका सिटीका आर्थिक रणनीति ब्यूरो इन्टरसिटी एक्सचेन्ज डिभिजनका निर्देशक आराई मिहोको ओसाका सिटि मियाकोजिमा वार्डका प्रमुख केइको फुजिओका, ओसाकास्थित नेपालका मानार्थ महावाणिज्यदूत इमानिशी कुनियो, फुकुओकास्थित नेपालको मानार्थ वाणिज्य दूतावासका मानार्थ कन्सुलर किमोतो युइचिरो, सुइता नगर परिषद् सदस्य सावदा नाओकी, नानकाई इलेक्ट्रिक रेलवे कं, लिमिटेड व्यापार रणनीति विभाग, व्यवस्थापन रणनीति कार्यालयका सहायक सीईओ यामामोतो युकी लगायतले मन्तव्य राखेका थिए ।

गैर आवासीय नेपाली संघ जापान (एनआरएनए)कान्साई क्षेत्रीय समितिका संयोजक हरिप्रसाद कॅंडेलको अध्यक्षतामा सम्पन्न समारोहमा प्रथम नेपाल फेस्टिवल कान्साईका आयोजक समिति संयोजक कृष्ण शर्मा गैरे स्वागत मन्तव्य, प्रथम नेपाल फेस्टिवल व्यवस्थापन समिति संयोजक नरेन्द्र बस्नेतले महोत्सवको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन पुरूषोत्तम लामिछाने, उषा महत र विनिसा सापकोटा गरेका थिए ।

महोत्सवको पहिलो दिन बिभिन्न संघसंस्थाहरुको साँस्कृतिक झाँकी प्रदर्शनी, पञ्चेबाजा, विभिन्न नृत्य, गीत, संगीत प्रस्तुत गरिएको थियो ।