
पोखरा । पोखरा पंछी समाजको आयोजनामा दुई दिने चौथो समर बर्ड हाइक कार्यक्रम सम्पन्न भएको छ । यही असार २७ र २८ गते स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका वडा नं. १ मा भव्य रूपमा सम्पन्न भएको समाजले जानकारी दिएको छ ।
कार्यक्रम फेदिखोला गाउँपालिकाको सहकार्यमा र नेपालिज अर्निथोलोजिकल युनियन, बर्ड्स नेपाल, हिमालयन ट्रेल्स ट्रेकिङ एण्ड क्लाइम्बिङ प्रालि तथा नेपाल नेचर ट्रेक्स एण्ड टुर्सको साझेदारीमा सम्पन्न भएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य प्रकृतिमा पैदल यात्रा, चरा अवलोकन, रातिको समयमा उल्लुको आवाज सुन्ने, नयाँ चरापर्यटन गन्तव्य पहिचान, वन्यजन्तु तथा चरासम्बन्धी पर्यटनको सम्भाव्यता अध्ययन, अफ सिजनमा पथप्रर्दशकहरूलाई पुनर्ताजगी, पर्यटन व्यवसायी तथा विद्यार्थीहरूलाई चरापर्यटनको अवधारणा र चरा चिन्ने सीप प्रदान गर्नु रहेको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।
वर्ड हाइकमा पोखरा पंछी समाजका सदस्यहरु, चराप्रेमी डाक्टर, इन्जिनियर, व्यवसायी, विद्यार्थीहरु र पत्रकारहरु गरि ६० जनाको सहभागीता रहेको उक्त कार्यक्रम पोखराबाट माछापुच्छ्रे भ्यू पोइन्ट सम्म गाडीमा र त्यसपछि अनुपम प्रकृतिको संगम रहेको रामकोट गाउँसम्म प्रकृतिमा चरा अवलोकन गर्दै पुगेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
सहभागीहरूलाई फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, वडाका प्रतिनिधि, स्थानीय अगुवाहरूले स्वागत गरेका थिए । उद्घाटन सत्रमा पोखरा पंछी समजका सचिव हेमन्त ढकालले चराविज्ञहरूको परिचय गराएका थिए भने संस्थाका अध्यक्ष घिमिरेले बर्ड हाइकको उद्देश्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल पंछीविद संघका अध्यक्ष हठन चौधरी, वरिष्ठ चराविज्ञ बद्री चौधरी, लक्ष्मण पौडेल, चराविज्ञ तथा फोटोग्राफर गोपि श्रेष्ठ, नेत्र विशेष डा. सचेत प्रभात श्रेष्ठ, हिराकुमारी मल्ल, कृपाकुमार गुरुङ र दुर्गा तिमिल्सिना लगायतको विज्ञ टोलीले सहभागीहरुलाई चरा अवलोकन गराएका थिए ।
पहिलो दिनको अवलोकनमा २६ प्रजातिका चराहरू अवलोकन गरिएको थियो । सहभागीहरूको बसोबास स्थानीय होमस्टेहरूमा गरिएको थियो र साँझको कार्यक्रममा चरापर्यटनको महत्त्व, चरा चिन्न सक्ने तरिकाको वारेमा नेपाल पंछीविद संघका अध्यक्ष हठन चौधरीले प्रस्तुती दिएका थिए । सहभागीहरू बीच साँझ नेपाली लोकसंगीत र साँस्कृतिक रमाइलो पनि गरेका थिए ।
दोस्रो दिन बिहान ६ बजे सहभागीहरूलाई दुई समूहमा बाँडेर नजिकको सामुदायीक वन क्षेत्र र कृषिभुमि गाउँ क्षेत्रमामा चरा अवलोकन गराइएको थियो । मनसुनको मौसमका बाबजुद पनि ४९ प्रजातिका चराहरू, जसमा नेपालमा मात्र पाईने चरा काँडे भ्याकुर, अति संकटापन्न डंगर गिद्ध, लगाएत ग्रिष्मकालिन आगन्तुक चराहरु रहेका थिए। अवलोकनपछि समापन सत्रमा समूह छलफल, सुझाव संकलन र मायाको चिनो आदान–प्रदानसहित कार्यक्रम सम्पन्न भएको थियो।
दुवै दिनको अबलोकनमा ५५ प्रजातिका चराहरु भेटिएको नेपाल पंछीविद संघका अध्यक्ष हठन चौधरीले वताए ।
पोखरा पंछी समाजका कार्यकारी सदस्य तथा कार्यक्रम संयोजक कृपा कुमार गुरुङका अनुसार यस्ता कार्यक्रमहरूले प्राकृतिक पर्यटन, बर्डिङ ट्रेल विकास, तथा पर्यावरणीय सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको बताए ।

