‘उत्तराखण्डमा बेपत्ता नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छ’ : परराष्ट्र मन्त्री राणा

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०८२ मा प्रकाशित


काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन् ।

सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको उनले जानकारी दिएकी हुन् । सो बाढीमा परेर नेपाली नागरिक पनि बेपत्ता भएको भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै परराष्ट्र मन्त्री डा राणाले उनीहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको सामाजिक सञ्जालमार्फत बताएकी छन् । 

“हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु”, मन्त्री डा.राणाले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।