निशिखोला–बागलुङ–पोखरा सम्पर्क समाजको तिजको दरखाने कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०८२ मा प्रकाशित


पोखरा । निसिखोला बाग्लुङ पोखरा सम्पर्क समाज कास्कीले नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको शुभ अवसरमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम शनिवार सम्पन्न गरेको छ।

सम्पर्क समाजले पोखरामा स्थायी तथा अस्थायी रूपमा वसोवास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना आदानप्रदान गर्दै भदाै ७ गते शनिवार तीज मनाएको हो ।

सम्पर्क समाजको अध्यक्ष विमला केसीले पोखरामा स्थायी तथा अस्थायी रूपमा वसोवास गर्ने निखिखोलीवासीहरुबीच एकआपसमा चिनजान तथा भाइचाराको सम्बन्ध स्थापित गर्ने र सुखदुःख अनि हरेक परिस्थितिमा सामुहिक उपस्थिति रहने आफुहरुको मुख्य उद्देश्य रहेको बताइन् । उनले पोखरा र निशिखोला गाँउपालिका बीच शिक्षा, स्वास्थ, पर्यटन लगायत सामुहिक सद्भाव र एकताबद्ध गर्ने संस्थाको मुख्य काम रहेको पनि जानकारी दिइन्।

कार्यक्रममा बोल्दै संस्थाका सचिव सन्तोष रेग्मीले संस्था भर्खर स्थापना भएको र संस्थासँग गर्नुपर्ने क्रियाकलापहरु धेरै भएकोले संस्थाका सदस्यहरुबीच रकम संकलन गरेर भएपनि सह‌योग गरेको र आगामी दिनमा अझै सशक्त रुपले लाग्ने प्रष्ट पारे ।

त्यसैगरी संस्थाले पोखरामा रहि हरेक सामाजिक काम, शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गर्दै आएको संस्था कर्म फ्लाइट फाउन्डेसनका कार्यक्रम निर्देशक तथा निशिखोला बागलुङ पोखरा सम्पर्क समाजका सदस्य प्रेमबहादुर कुँवरका कान्छा बुवा झमबहादुर कुँवरलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

त्यसैगरी निशिखोलाका कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नव प्रतिभावान् उदयमान मौलिक स्वरका खानी लोक दोहोरी कलाकार दिप्लप खातिले आफ्नो प्रस्तुति राखेका थिए ।

संस्थाका सचिव सन्तोष रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष भविराम थापा (मिलन‌)ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका सदस्य निरन चन्द, पुनिकला घर्ति, कृष्ण बहादुर जैसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।