प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०८२ मा प्रकाशित


काठमाडौँ। प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र बेथिति विरुद्ध ‘जेनजी’ पुस्ताले सोमबार नयाँ बानेश्वरमा गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यू आदेश जारी गरेको छ । मध्याह्न १२:३० बजेदेखि राति १०:०० बजेसम्मका लागि लागू हुनेगरी बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको हो ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जनाए ।

जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली चलाएको थियो । नयाँ बानेश्वर क्षेत्र अहिले तनावग्रस्त बनेको छ । संसद् भवनको पर्खाल भत्काउने प्रयाससहित तोडफोड गरिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले हवाई फायरका साथै अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रहरी स्रोतका अनुसार, प्रदर्शनकारीहरूमाथि लाठीचार्ज समेत गरिएको थियो ।