सेनाले लगायो निषेधाज्ञा र कर्फ्यु

-


     मर्दी न्युज    
     भाद्र २५ गते २०८२ मा प्रकाशित


नेपाली सेनाले कफ्र्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

हाल लागू गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी रहने सेनाले बुधवार जारी विज्ञप्तिमा जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्युको दौरानमा अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव बहान, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुने जनाएको छ ।

सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण नगर्न आग्रह गरेको छ । यदि, यी कार्य गरेमा दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने सेनाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

“राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ–आफ्नो दायित्वलाई निरन्तरता दिननुहुने कुरामा नेपाली सेना विश्वस्त छ,” विज्ञप्तिमा उल्लेख छ, “जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्‍याउन अपिल गरिन्छ ।”

सेनाले भ्रम नफैल्याउन र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न पनि आग्रह गरेको छ ।