चितवनमा पहाडी भेगको भँगेरा भेटियो : चरा प्रजातिको सूचिमा थप वृद्धि

-


     मर्दी न्युज    
     मंसिर ७ गते २०८२ मा प्रकाशित


फाइल फोटोः पेम्बा शेर्पा

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पहाडी भेगमा पाइने कैलो भँगेरा अभिलेख भएको छ । उच्च पहाडी क्षेत्र ४३०० मिटर सम्ममा बसोबास गर्ने यो आवासीय प्रजाति चितवनमा भेटिनु दुर्लभ अभिलेख हो, जसले चितवनमा पाईने चरा प्रजातिको संख्या थप वृद्धि गरी ६६४ पुगेको छ ।

यहि मंसिर ३ गते, बुधवार का दिन राप्ती नदीको बाँध सुन्डी खेल मैदान नजिकैको झाडीमा बगाले बगेडीको झुण्ड संगै पंछी अवलोकनका क्रममा चराविद धिरज चौधरीले यस प्रजातिको स्पष्ट फोटोसहित पुष्टि गरेका हुन् ।

फोटोः धिरज चौधरी

नेपालका चराहरुको रातो किताब (Red Data Book) अनुसार, यो प्रजाति पहाडी भू-भाग समुन्द्री सतहको ९०० मिटर भन्दा माथि पश्चिम नेपालमा अपेक्षाकृत सामान्य भए पनि पूर्वतर्फ दुर्लभ देखिन्छ । यसअघि तल्लो भूभागमा यसको अभिलेख केवल दुई पटक मात्र सन् २००१ मा कोशी टप्पु वन्यजन्तु आरक्षमा र सन् २००७ मा बर्दिया राष्ट्रिय निकुञ्जमा भएको थियो ।

यसपटक चितवनमा गरिएको अभिलेखले देशको जैविक विविधता अध्ययनमा महत्वपूर्ण तथ्य थप गरेको छ । कैलो भँगेरा जस्तो पहाडी प्रजाति तल्लो भूभागमा देखा पर्नु परिवर्तित वातावरणीय अवस्थाको संकेत हो । चराविज्ञहरूले समग्र चरा चालचलनको निरन्तर वैज्ञानिक निगरानी र दीगो संरक्षण कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

रङ्ग परिवर्तनशील अवस्थामा, फाइल फोटोः दीपक बुढाथोकी