पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा

-


     मर्दी न्युज    
     पुस १९ गते २०८२ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, नेकपा एमालेका नेता एवं व्यवसायी पुष्प अधिकारी र व्यवसायी मिलन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

रास्वपाले शनिबार पोखरामा आयोजना गरेको पार्टी सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

रास्वपा छिरेका कुमार खड्का पद र अवसरका लागि बारम्बार पार्टी फेरिरहने चतुर नेताका रूपमा परिचित छन् । उनले सुरुमा संघीयताको विरोध गर्दै ‘अखण्ड नेपाल’ नामक पार्टी खोलेर राजनीति सुरु गरेका थिए । सोही पार्टीबाट २०७० को संविधान सभामा समानुपातिक सभासद बनेका उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री समेत बनेका थिए । पछि राजनीतिक भविष्य सुरक्षित गर्न उनले आफ्नो पार्टी नै नेपाली कांग्रेसमा विलय गराए ।

कांग्रेसको कोटाबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बनेका खड्का, कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा शक्तिशाली भौतिक पूर्वाधार मन्त्री बनेका थिए । मन्त्री हुँदा विभिन्न योजना र बजेट विनियोजनमा विवादमा परिरहने खड्का पछिल्लो समय कांग्रेसमा अवसर नपाएपछि नयाँ शक्तिको ओत लाग्न रास्वपा पुगेका हुन् ।

यसैगरी रास्वपा प्रवेश गरेका अर्का पात्र पुष्प अधिकारी नेकपा एमालेका स्थापित नेता हुन् । उनी चर्चित पर्यटकीय गन्तव्य रुपाकोट रिसोर्टका सञ्चालक समेत हुन् । लामो समय एमालेको राजनीतिमा सक्रिय रहेका अधिकारी व्यवसायीका रूपमा बढी चिनिन्छन् ।

पोखराकी व्यवसायी मिलन थापा पनि शनिबारै रास्वपामा प्रवेश गरिन् । अटो व्यवसायका साथै सामाजिक संघ संस्थामा क्रियाशील मिलन यसअघि नेपाली कांग्रेसमा थिइन् । उनी व्यवसायी ध्रुव थापाकी पत्नी र गण्डकीका मन्त्री बिन्दुकुमार थापाकी भाइ बुहारी हुन् ।