
कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले यसवर्ष गरेको अध्ययनको क्रममा सो सङ्ख्यामा डल्फिन अभिलेख भएका हुन् ।
जसमा बिहान १५ वटा र साँझ आठवटा अर्धवयस्क बच्चा देखापरेका थिए । डल्फिन अवलोकन सिजन चलेको बेला गत भदौमा कैलालीस्थित मोहना, पथरैया नदीमा टीकापुर, भजनी क्षेत्रमा अध्ययन गरिएको थियो ।
स्थानीय समुदायलाई तालिम दिएर उनीहरूको समेत सहभागितामा व्यवस्थित र वैज्ञानिक तरिकाले अध्ययन गरेको कोषको बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले बताए ।
उनका अनुसार जिपिएस समेतको प्रयोग गरेर साँझ–बिहान अध्ययन गरिएको थियो । विश्वमै दुर्लभ गंगेटिक प्रजातिको डल्फिन मनसुनभरि कैलालीको नदीमा आउने गरेका छन् । नदीमा जलस्तर कम भएपछि भने पुनः तल्लो तटीय क्षेत्रमा फर्कने गरेका छन् ।
विगतमा स्थानीय संरक्षणकर्मीको अध्ययनले ६८ वटासम्म डल्फिन कैलालीमा अभिलेख गरेको थियो । त्यसको तुलनामा यो पटक कम डल्फिन पाइएको प्रमुख तुम्बाहाम्फेले बताए । उनले अब हरेक वर्ष मोहना, पथरैया नदीमा डल्फिनको अध्ययन गर्ने उल्लेख गरे ।
स्थानीयस्तरबाट डल्फिन संरक्षणका लागि भइरहेको प्रयास राम्रो रहेको कोषले जनाएको छ । नदी क्षेत्रमा हुने उत्खनन रोक्न र फोहोरमैलाको उचित व्यवस्थापन गर्नसके अझ राम्रो हुने तुम्बाहाम्फेको भनाइ छ ।
कोषले मोहना नदीको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका लगायत माथिल्लो क्षेत्रमा अध्ययन नगरेको जनाएको छ । मनसुनमा डल्फिन धनगढी उपमहानगरपालिकाको फूलबारीसम्म पुग्ने गरेको सर्वसाधारणले बताउने गरेका छन् । विगतमा डल्फिन त्रिनगर भन्सारमा रहेको पुलमुनि क्षेत्रमा समेत मोहना नदीमा देखिएको डल्फिन संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।
डल्फिन देखिने विभिन्न अवलोकन क्षेत्रमा अवलोकन विधिबाट अध्ययन गरिएको थियो । यो वर्ष गत वर्षको तुलनामा डल्फिनको बच्चा बढी अभिलेख भएको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले बताएका छन् ।

