खुम्बु आइसफलमा सेराक भत्किँदा दुई जना घाइते, हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

-


     मर्दी न्युज    
     वैशाख २२ गते २०८३ मा प्रकाशित


साँकेतिक तस्विर

काठमाडौँ । सगरमाथा क्षेत्रको खुम्बु आइसफलमा भएको हिमखण्ड (सेराक) भत्किने घटनामा एक विदेशी आरोही र एक शेर्पा गाइड घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ।

पर्यटन विभागका अनुसार सगरमाथा आधार शिविरबाट दोस्रो शिविरतर्फ ‘रोट सन’का लागि अगाडि बढ्ने क्रममा आज बिहान करिब ५:४५ बजे जोखिमयुक्त मानिएको ठुलो हिमथुप्रो खस्दा आरोहण मार्गमै दुर्घटना भएको हो। उक्त घटनामा भारतको पुनेका ४० वर्षीय निमिस कुमार सिंह र ४४ वर्षीय गाइड पेम्बा टेन्डुक शेर्पा घाइते भएका हुन्।

घटनापछि पायोनियर एडभेन्चर प्रालि तथा समिट फोर्स एक्स्पिडिसनसँग आबद्ध शेर्पा उद्धार टोलीले तत्काल प्रतिक्रिया जनाउँदै घाइतेलाई आधार शिविरसम्म पुर्‍याई समन्वय सुरु गरेको थियो। त्यसपछि सेभेन समिटसम्बद्ध टोलीको पहलमा लुक्लाबाट बिहान करिब ६:३० बजे हेलिकप्टर परिचालन गरी उनीहरूलाई उद्धार गरिएको हो।

उद्धारपछि घाइते दुवै जनालाई काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। सम्बन्धित निकायका अनुसार उनीहरूको स्वास्थ्य अवस्था हाल स्थिर र खतरामुक्त रहेको छ।