
बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो ।
बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको थियो ।
पचास वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेवारिसे, बिरामी तथा अशक्त भएका २० सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी जग्गामा रु. एक करोड खर्चेर जग्गा तारबारसहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए ।
नगरपालिका–३ सिम्लेस्थित पाँच रोपनी सार्वजनिक जग्गामा बागलुङ नगरको रु. ३५ लाख र मुख्यमन्त्री कार्यालयको रु. ६५ लाख खर्च गरेर होस्टेल बनाइएको थियो । नगरपालिकाले दुई वर्षअघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य ल्याएको थियो ।
“कुकुर बन्ध्याकरणसमेत भइरहेको र छाडा कुकुरलाई होस्टेलमा खानपानसहित व्यवस्थापन गर्ने योजना छ,” नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “घरपालुवा कुकुर बिरामी परेपछि बजारमा छोड्ने चलनले बजारमा यात्रुलाई टोकेर, दुर्घटना निम्ताउने समस्या भएकाले होस्टेल निर्माण गरिएको हो ।”
नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ । साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ । दर्ता गरेको कुकुर सडकमा आएमा घरधनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ । दर्ता गर्दा रु. २०० शुल्क तिर्नुपर्ने छ । रासस

