७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषिमा सक्रिय

-


     मर्दी न्युज    
     श्रावण ३ गते २०८३ मा प्रकाशित


नेपालका ७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको सरकारी प्रतिवेदनले देखाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रतिवेदनअनुसार देशभर ज्येष्ठ नागरिकको संख्या ३३ लाख ५५ हजार ८०८ पुगेको छ।

कुल ज्येष्ठ नागरिकमध्ये ६८.८ प्रतिशत स्वव्यवसाय वा कामदारका रूपमा संलग्न छन्। यस्तै, १३.४ प्रतिशत रोजगारीमा, ०.८ प्रतिशत रोजगारदाताका रूपमा र १७ प्रतिशत पारिवारिक सहयोगीका रूपमा सक्रिय रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, गैरकृषि क्षेत्रमा सक्रिय ज्येष्ठ नागरिकको हिस्सा २७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ।

मन्त्रालयले सार्वजनिक गरेको उक्त प्रकाशनमा देशभरका ज्येष्ठ नागरिकको जनसंख्या, उनीहरूको आर्थिक संलग्नता तथा समग्र अवस्थासम्बन्धी विभिन्न विवरण समेटिएको छ।