प्रधानमन्त्रीसँग छलफल गरेर फर्कँदै गर्दा किस्पाङ गाउँपालिका अध्यक्ष पक्राउ

-


     मर्दी न्युज    
     भाद्र २९ गते २०८३ मा प्रकाशित


काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफलमा सहभागी भएर फर्किने क्रममा प्रहरीले उनलाई सिंहदरबारको गेटबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दान बहादुर थापाको अनुसार  तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। “पक्राउ गरेर उनलाई दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ,” थापाले भने।

प्रधानमन्त्री शाहले सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए। बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराउन आयोजित उक्त छलफलमा सहभागी हुन अध्यक्ष तामाङ सिंहदरबार पुगेका थिए।

छलफल सकेर बाहिरिने क्रममा उनलाई प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको हो। पक्राउसँग सम्बन्धित बैंकिङ कसुरको मुद्दाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।