
काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको पहिचान नभएका शवको विदुर नगरपालिका-६ स्थित खम्पाक्याम्पमा व्यवस्थापन गरिएको छ ।
रसुवाको विभिन्न स्थानबाट संकलन गरिएको ६३ र नुवाकोटको दुईसहित ६५ शवको व्यवस्थापन गरिएको हो । यसअघि नुवाकोट र रसुवाबाट संकलन भएका शव काठमाडौँ पठाउँदै आएकोमा स्थान अभावको कारण जिल्लामा नै व्यवस्थापन गर्न भनेसँगै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम संकलन गरिएका शवको खाडलमा पुरेर व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
उनको अनुसार डिएनए परीक्षणका लागि नमूना संकलन गरेर परीक्षणमा मेल खाएमा आफन्तलाई सहजै उपलब्ध गराउन सकिने गरेर अन्तरराष्ट्रिय मापदण्डसहित व्यवस्थित र वैज्ञानिक रूपमा शवको व्यवस्थापन गरिएको छ ।
“खाडलमा राख्नुअघि प्रत्येक शवको डिएनएका लागि नमूना संकलन, शव गाड्न निश्चित दूरीअनुसार स्थान निर्धारण, शव वा शवका टुक्रालाई विशेष प्रकारको ब्यागमा राखेर ब्यागभित्रै शवको पहिचान खुल्ने संकेत नं समेत उल्लेख गरेर व्यवस्थापन गरिएको छ”, प्रहरी उपरीक्षक रेग्मीले भने, “व्यवस्थापन भएका शव आगामी दिनमा पहिचान भई निकाल्नुपरेमा सहज बनाउन कङ्क्रिटको ढलानमा शवलाई दिइएको संकेत नं जमिनको सतहमा राखेर जीपीएस नक्सांकनसमेत समावेश गरिएको छ ।”
भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० मा आएको विनाशकारी बाढीमा परेर अहिलेसम्म नुवाकोटमा २०२ र रसुवा १८६ शव भेट्टिएका छन् । त्योमध्ये रसुवामा १० जना र नुवाकोटमा १८ जनाको पहिचान भएसँगै सम्बन्धित परिवारले बुझेका छन् भने बाँकी शव यसअघि व्यवस्थापनको लागि काठमाडौँ पठाइएको थियो ।
नुवाकोट र रसुवाबाट पहिचान नभएका शव शिक्षण अस्पताल महाराजगञ्जमा पठाउँदै आएकामा अबका दिनमा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका अनुसार शवको व्यवस्थापन गर्न भनेपछि विदुर नगरपालिका-६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागार र फोहरको डम्पिङ क्षेत्र नजिकैको सुरक्षित स्थानमा व्यवस्थापन गरिएको हो ।
शव व्यवस्थापनमा अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) को मापदण्डअनुसार अत्यन्तै व्यवस्थित र वैज्ञानिक रूपमा गरिएको हुँदा डिएनएमार्फत पहिचान भएमा सहजै उपलब्ध गराउन सकिने प्रहरीले जनाएको छ ।

