चिलिमे हाइड्रोको सुरुङमा चार शव फेला

-


     मर्दी न्युज    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित


रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजीका क्रममा चार वटा शव फेला परेका छन्।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार खोजी तथा उद्धारका क्रममा सुरुङभित्र चार वटा शव भेटिएका हुन्। प्रारम्भिक रूपमा ती शव सुरुङभित्रै कार्यरत कर्मचारीको हुन सक्ने अनुमान गरिएको छ।

सुरुङभित्र अझै केही व्यक्ति फसेको हुन सक्ने आशंका रहेकाले खोजी कार्य जारी रहेको रिजालले जानकारी दिए। उनका अनुसार उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ। सुरुङभित्र प्रवेश गरी खोजी गर्ने क्रममा शवहरू फेला परेका हुन्।

गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मानिसहरू सुरुङभित्र फसेको आशंकामा खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।

बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका संरचनासहित सुरुङ क्षेत्रमा समेत क्षति पुगेकाले सम्भावित रूपमा फसेका व्यक्तिको खोजीलाई प्राथमिकता दिइएको छ।