
सन थापा, जापान ।
नोभेम्बर १४ । जापानमा कोरोना संक्रमण दैनिक झन बढ्दै गएको छ । शनिबार अहिलेसम्मकै उच्च १ हजार ७ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार उच्च १ हजार ७ सय पाँच जना र बिहीबार १ हजार ६ सय ६० जना संक्रमित भएका थिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ७९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख २ हजार ६ सय ४८ जना कोरोना संक्रमित निको भएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ८९ सय एक जना पुगेको छ । आज ओसाका, क्योतो, र होक्काईदो, प्रान्तमा एक-एक जना गरी तीनजनाको मृत्यु भएको छ ।
एनएचकेका अनुसार संक्रमितमध्ये १० हजार ९ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ । ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा ३ सय ५२, होक्काईदोमा २ सय ३०, ओसाकामा २ सय ८५ र खानागावामा १ सय ४७ र आईचीमा १ सय ५२ जना थपिए भने अन्य ११ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३४ हजार ४ सय ९६, ओसाकामा १५ हजार १ सय ५५, खानागावामा १० हजार ४०, आईचीमा ७ हजार ६ सय ११, साईतामामा ६ हजार ७ सय ३८, चिबामा ५ हजार ७ सय छ, फुकुओकामा ५ हजार ३ सय ६७, होक्काईदोमा ५ हजार २ सय ८५, ह्योगोमा ३ हजार ८ सय ९५, ओकिनावामा ३ हजार ६ सय ९६ र क्योतोमा २ हजार २ सय ७४ जना पुगेको छ ।

