गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या १७०५, थप एक जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ पुस । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या १७ सय ५ जना रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलवारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या १७ सय ५ जना रहेको छ । तीमध्ये १५ सय २२ जना होम आइसोलेसनमा उपचाररत छन् ।

त्यस्तै, मंगलवार प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार बेलुका साढे ८ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८८ पुगेको छ ।

त्यस्तै, प्रदेशमा मंगलवार ४० जना कोरोना संक्रमित थपिएका छन् । ४ सय ९१ जनाको नमूना परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको हो ।

थपिनेमध्ये ३३ जना कास्कीका छन् भने स्याङ्जाका ४ र तनहुँका ३ जना रहेका छन् ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४ हजार ५९ पुगेको छ । तीमध्ये १२ हजार १ सय ६६ जना निको भएका छन् ।



Tags: