
पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
यस्तै गत २४ घण्टामा थप ३७४ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन् भने हालसम्म कोरोनाबाट १९६५ जनाको मृत्यु भएको छ ।
यस्तै नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको बताएको छ भने संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउन अनुरोधसमेत गरेको छ ।
गण्डकीमा थप २ को मृत्यु, २५ जनामा संक्रमण पुष्टि:
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृतकमा पोखरा–८ का ७३ वर्षीय पुरुष र तनहुँ भिमाद–६ का ५० वर्षीया महिला रहेका छन् । दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९९ पुगेको छ ।
त्यस्तै प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा कास्कीका १७, तनहुँ र बागलुङका ३÷३ जना र नवपुरका २ जना रहेका छन् । यससँगै प्रदेशमा कुल संक्रमितको संख्या १५१८९ पुगेको छ । त्यस्तै प्रदेशमा बितेको २४ घण्टामा १०२ जना निको भएसँगै कुल निको हुनेको संख्या १४५२४ पुगेको छ ।

