गण्डकी प्रदेशमा कोरोनाबाट निधन हुनेको संख्या २०२ पुग्यो

-


     मर्दी न्युज    
     माघ ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ माघ । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज बुधवार पोखरामा थप २ जनाको कोरोनाबाट ज्यान गएको हो ।

पछिल्लो पटक कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा पोखरा २९ की ३५ वर्षीया महिला रहेकी छिन् । उनको उपचारका क्रममा आज बिहान ६ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई पुस २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङ्जाकी १ जना महिलाले समेत कोरोना भाइरस संक्रमणबाट पोखरामा ज्यान गुमाएकी छिन् । जिल्लाको बिरुवा गाउँपालिका वडा नम्बर ५ की ७० वर्षीया महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान ७ बजे ज्यान गएको हो ।

उनलाई हिजोमात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय २ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४० जना नयाँ संक्रमितको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा कास्कीका २७, तनहुँका १०, बागलुङका २ र पर्वतका एक जना रहेका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार २६४ पुगेको छ ।



Tags: