लमजुङमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

-


     मर्दी न्युज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित


तस्विरः गंगा घले

पोखरा, ३ चैत । लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

लमजुङको को क्होलासोँथर गाउँपालिका ४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा सो घट्ना भएको लमजुङस्थित हाम्रा संवाददाता गंगा घलेले जनाएको छ ।

मंगलवार सवा तीन बजे चट्टाङ परेर सो विद्यालयका कक्षा १० मा अध्ययनरत छविन्द्र गुरुङ र मनबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरुलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उद्धारबापत लाग्ने खर्च सो गाउँपालिकाले ब्यहोर्ने प्रजिअ शर्माको भनाइ छ ।

उनीहरु होस्टलमा बसेर चिया खाँदै गर्दा नजिकैको विद्युतको पोलमा चट्याङ परेको हो । घाइतेको हातखुट्टा र शरीरको अन्य भागमा चोट लागेको छ ।